Breaking

‘प्रधानमन्त्री किन चुनावको मुखमा भारत जानुभयो? आएपछि सोध्नुपर्ला’


काठमाडौँ – प्रमुख प्रतिपक्ष नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले शुक्रबारदेखि सुरु भएको प्रधानमन्त्री शेरबहादुर देउवाको भ्रमणबारे फर्केपछि सोध्ने बताएका छन्।

प्रधानमन्त्री देउवा तीन दिने औपचारिक भ्रमणका लागि शुक्रबार दिउँसो दिल्ली पुगेका छन्। उनी स्थानीय तहको निर्वाचनको मुखमा दिल्ली पुगेका हुन् । ओलीले प्रधानमन्त्री देउवाको भारत भ्रमण निर्वाचनको मुखमा भएको भन्दै किन हो सोध्ने बताए ।

‘प्रधानमन्त्री किन चुनावको मुखमा भारत जानुभयो? आएपछि सोध्नुपर्ला,’ उनले भने। त्यस्तै, ओलीले आफ्नो पार्टी बलियो भएको बताउँदै पाँच दलिय गठबन्धनलाई देखेर चिन्ता नगर्न आग्रह गरे।

‘पाँच दलिय गठबन्धनको तपाईंहरुले चिन्ता गर्न पर्दैन,’ उनले भने,‘नेकपा एमाले क्युन्टलको ढक हो। एक÷एक किलोको पाँचवटा ढक राखेर केही हुँदैन।’

उनले केही दिन अघि नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधव नेपालले ’ओली राजावादीसँग मिल्न लागेको’ भन्दै गरेको टिप्पणीप्रति पनि जवाफ दिएका छन्।

‘एउटा गठबन्धनवालाले केपी ओली राजासँग मिल्छ भनेको सुनें। कहाँ छ राजा र मिल्ने कस्तो बुद्धि होला,’ उनले भने, ‘केपी ओली परिक्रमा गरेर पाउँमा दाम राखेर ढोग्ने मानिस हैन।’

आफू जनमतबाट प्रधानमन्त्री भएको भन्दै उनले दर्ता फाँटमा निवेदन दर्ता गरेर प्रधानमन्त्री नमाग्ने दावी गरे। ‘एक्लै एमालेका छेउमा नपर है भनेकै छन् त,’ उनले भने,‘जालजात झोलाबाट सरकारमा गएका हैनौं अब पनि जनादेशबाट सरकारमा फर्कन्छौं ।’