काठमाडौँ – राजधानीमा जारी त्रिदेशीय टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलामा शुक्रवार पपुवा न्युगिनी (पीएनजी) ले मलेसियालाई हराएसँगै फाइनल प्रवेशको यात्रा कायमै राखेको छ । मलेसियालाई आठ विकेटले पराजित गर्दै पीएनजीले फाइनल प्रवेशको सम्भावना बलियो बनाएको हो ।
त्रिवि क्रिकेट मैदानमा मलेसियाले दिएको एक सय ९७ रनको लक्ष्य पीएनजीले मात्र दुई विकेट गुमाएर १७.५ ओभरमा नै भेटायो । पीएनजीको जितमा टोनी उराले ३४ बलमा १० छक्का र दुई चौकासहित नटआउट ८६ रन बनाए ।
यस्तै कप्तान असाद भालाले नटआउट ७४ र चाल्र्स अमिनीले २८ रन बनाए । बलिङतर्फ मलेसियाका मुहम्मद वकिफ र स्याज्रुल इद्रुले एक–एक विकेट लिए ।
अब लिगको अन्तिम खेलमा शनिबार नेपालले मलेसियासँग खेल्नेछ । यो खेलमा नेपालले मलेसियालाई पराजित गरेमा पीएनजी फाइनल पुग्नेछ । मलेसियाले भने फाइनल पुग्न नेपाललाई हराउनैपर्नेछ । घरेलु टोली नेपाल लगातार तीन खेल जित्दै फाइनल पुगिसकेको छ ।
खेलकुद
प्रतिक्रिया