Breaking

प्रधानमन्त्री देउवालाई स्वागत गर्ने जिम्मा भारतीय रक्षाराज्यमन्त्री भट्टलाई


काठमाडौँ — प्रधानमन्त्री शेरबहादुर देउवालाई भारतका रक्षा तथा पर्यटनराज्यमन्त्री अजय भट्टले इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गर्ने भएका छन् ।

तीनदिने भ्रमणका लागि केही बेरमा नयाँदिल्ली अवतरण गर्न लागेका प्रधानमन्त्री देउवासहितको भ्रमणटोलीको स्वागतमा राज्यमन्त्री भट्टले स्वागत गर्ने भएका हुन् । प्रधानमन्त्री देउवाको स्वागतमा दिल्ली विमानस्थलमा बोर्डहरू पनि राखिएका छन् ।

देउवाको स्वागतमा नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्रा र विदेश मन्त्रालयका नेपाल हेर्ने सहसचिव अनुराग श्रीवास्तव पनि विमानस्थल पुगेका छन् ।

प्रधानमन्त्री देउवाको भ्रमण टोलीमा परराष्ट्रमन्त्री नारायण खड्का, स्वास्थ्यमन्त्री विरोध खतिवडा, ऊर्जामन्त्री पम्फा भुसाल र कृषिमन्त्री महेन्द्र राय यादव पनि रहेका छन् ।

प्रधानमन्त्री देउवाले भारतीय विदेश मन्त्री एस जयशंकरसँग आज होटल आइटीसी मौर्यमा भेटवार्ता गर्ने छन् । शनिबार देउवाले विहान १० बजेर ४० मिनेटमा महात्मा गान्धीको समाधीस्थल राजघाट पुगेर पुष्प अर्पण गर्ने कार्यक्रम रहेको छ ।

शनिबार नै ११ बजेर १० मिनेटमा देउवाले भारतीय समकक्षी नरेन्द्र मोदीसँग हैदराबाद हाउसमा भेटवार्ता गर्ने कार्यतालिका रहेको छ । र हैदरावाद हाउसमै सवा १२ बजे सम्झौता आदानप्रदान र प्रेस स्टेटमेन्ट जारी हुने कार्यक्रम रहेको छ ।

सोही दिन अपराह्न साढे ४ बजे मौलाना आजाद रोडमा भारतीय उपराष्ट्रपतिसँग प्रधानमन्त्री देउवाले शिष्टाचार भेटवार्ता गर्ने कार्यतालिका रहेको छ । आइतबार ९ बजे देउवा वाराणसी पुग्ने छन् भने त्यहाँ कार्यक्रममा सहभागी हुने छन् ।

वाराणसीको कार्यक्रम सकेर देउवा ४ बजे दिल्ली फर्कने छन् । भ्रमण सकेर देउवा ४ बजेर १५ मिनेटमा काठमाडौँका लागि फर्कने कार्यतालिका रहेको छ ।