मनोरञ्जन

आमिर खानले फिल्मबाट संन्यास लिने


बलिउड अभिनेता आमिर खानले फिल्मबाट संन्यास लिने निर्णय गरेको बताएका छन् । आइडियाज अफ इन्डिया’ नामक कार्यक्रममा उनले परिवारलाई समय दिन नपाएको भन्दै फिल्ममा काम नगर्ने र फिल्म निर्माण समेत नगर्ने निर्णय लिएको खुलासा गरेका हुन्। उनका अनुसार यो निर्णय उनले कोरोनाकालमै गरेका थिए । आगामी फिल्म लालसिंह चड्डा पछि आफूले फिल्म नखेल्ने निर्णय गरेको उनले बताएका हुन् । अभिनेता आमिरको फिल्मबाट संन्यास लिने निर्णयप्रति उनकी पूर्व श्रीमती किरण रावलगायत परिवार दुखी भएका थिए ।‘मैले किरणसहित यो कुरा परिवारलाई सुनाउँदा आफ्नै आँखा समेत रसाए । मैले मनबाटै फिल्म छाडिसकेको थिएँ । त्यही निर्णय बुझाउने तरिकाले परिवारलाई सुनाएँ । उनीहरूले मसँग कुनै वादविवाद गरेनन्,’ उनले भने । तर उनकी श्रीमती किरण रावले फेरि सोच्न आग्रह गरेकी थिइन् ।

‘किरणले मभित्रको फिल्मलाई चिनेकी छन् । उनले मसँग रुँदै फिल्मबाट अलग नहुन आग्रह गरिन् । तर, म अब यो सब गर्न चाहँदिनँ थिएँ,’ आमिरले भनेका छन् । उनले यसमै थपे, ‘म तपाईंहरूसँग मेरो समय बिताउन चाहन्छु भनेर किरण र उनका आमाबाबु, रिना र उनका आमाबाबु, मेरा छोराछोरी र मेरो परिवारलाई सम्झाएँ । उनले आउँदो समयमा फिल्मसँग जोडिएको गतिविधिसमेत आफूले नगर्ने बताएका थिए। उनले फिल्म छाड्ने निर्णय लिएपछि छोरी इरा खानसँग काम गरिरहेका छन् । आमिरले यो कुरा परिवारभन्दा बाहिर पनि भन्न चाहेका थिए। तर फिल्म रिलिज हुने समयमा यस्तो घोषणा उपयुक्त हुँदैन भनेर रोकिए। उनलाई यो ुमार्केटिङ पोलिसीु नलागोस् भन्ने थियो । मैले फिल्मबाट संन्यास लिँदैछु भन्दा मैले मार्केटिङ गरेँ भन्ने लाग्न सक्छ। त्यसैले म बिस्तारै काम गर्न छाड्दै छु। नयाँ फिल्म गर्ने छैन, उनले भने लालसिंह चड्डा रिलिजपछि अबको तीन–चार वर्षसम्म म के गर्छु भनेर कसैले पत्तै पाउँदैनन् । त्यतिञ्जेल म यहाँबाट हराउने छु। अब आराम गर्ने समय हो ।’

उनी आगामी दिनमा के गर्नेछन्, त्यो त पछि नै थाहा हुनेछ। हाल भने उनले आफ्नो फिल्म लालसिंह चड्डा आफूलाई मनपर्ने अभिनेता टम ह्यांक्सलाई देखाउने प्रयास समेत गरिरहेका छन् । यो फिल्म टमकै ‘फरेस्ट गम्प’ को हिन्दी रिमेक हो। यसमा आमिरलाई करीना कपूर खानले साथ दिएकी छिन् । उनको पछिल्लो समय ‘ठग्स अफ हिन्दोस्तान’ रिलिज भएको थियो। यो फिल्म बक्स अफिसमा फ्लप सावित भयो । आमिर र उनकी पत्नी किरण रावले गत असारमा सम्बन्ध विच्छेदको घोषणा गरेका थिए । किरण आमिरकी दोस्रो श्रीमती हुन् र उनीहरूका एक छोरा छन् । आमिरकी पूर्वपत्नी रिनाका तर्फबाट पनि छोरी इरा छिन् । किरण र आमिरले आफूहरू श्रीमानश्रीमतीका रूपमा अलग भए पनि सँगै काम गरिरहने र साथी रहिरहने बताएका थिए । एजेन्सी