Breaking

मजबुत बन्यो गठबन्धन, देउवाले प्रचण्ड–माधवलाई ढुक्क बनाए, तीन तहमा यसरी बन्दैछ संयन्त्र


काठमाडौँ — आगामी बैशाख ३० को स्थानीय तह निर्वाचनमा सिंगो गठबन्धन एकभएर जाने भएको छ । केन्द्रदेखि पालिकासम्मै संयन्त्र बनाएर जाने निर्णय गरेको गठबन्धनले आगामी निर्वाचनमा एकताबद्ध भएर जाने सहमति गरेको हो । मंगलबार मात्रै सत्ता गठबन्धनको नेतृत्व गरेको नेपाली काँग्रेसले आवश्यक्ता र अवस्थाका आधारमा चुनावी तालमेल गर्ने निर्णय गरेको थियो । जसप्रति सत्ता गठबन्धनकै अन्य दलको असन्तुष्टि थियो । तर बिहिबारको गठबन्धन बैठकमा घनिभूत छलफल गर्दै सिंगो गठबन्धन चुनावी तालमेलसहित निर्वाचनमा जाने भएको हो ।

योसँगै स्थानीय आवश्यकताका आधारमा तालमेल गर्ने काँग्रेसको निर्णय ‘च्याप्टर क्लोज’ भएको छ । प्रधानमन्त्री देउवाले आफुलाई सघाएका दलहरुलाई एकताबद्ध बनाएरै निर्वाचनमा जाने उद्घोष गरेका छन् । काँग्रेसको आवश्यकता आधारमा चुनावी तालमेलमा जाने विषयमाथि गठबन्धनमा आवद्ध अन्य दलले प्रश्न उठाएका थिए । काँग्रेसले चाहेका स्थानमा मात्रै तालमेल हुनेत होइन ? यो कस्तो तालमेल हो भन्ने सवाल उठाएपछि प्रधानमन्त्री देउवाले चार दललाई आश्वस्त पार्दै मजबुत गठबन्धनका साथ चुनावमा जाने बताएका हुन् ।

प्रधानमन्त्री देउवाले यति भनेपछि अब चुनावी तालमेलको अलमलमा रहेका अन्य दलसमेत ढुक्क बनेका छन् । देउवाको बोली फुटेपछि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई सबैभन्दा धेरै हाइसुक्क भएको छ । यसअघि नेपाली काँग्रेसभित्रको मतभेद्ले प्रचण्ड–माधवलाई तनावमात्रै दिएको थियो । काँग्रेसभित्र सभापति देउवाइतरको शेखर कोइराला पक्षले चुनावी तालमेल गर्ने नहुने मत राख्दै आएको थियो । जुन अहिले पनि कायमै छ ।

तथापी देउवाले आवश्यक्ताको आधारमा भन्ने शब्दको प्रयोग गर्दै विरोधी पक्षलाई मिलाउने काम गरेका थिए । अब आवश्यक्ता आधारमा भन्ने शब्दको औचित्य समाप्त भए पनि स्थानीय स्तरमै चुनावी तालमेलको निर्णय गर्ने अधिकार दिने भनिएपछि शेखर पक्षले समेत सार्वजनिक विरोध जनाएको छैन । फलतः यसअघिदेखि नै तालमेलका लागि प्रधानमन्त्री देउवासँग हारगुहार गरिरहेका प्रचण्डसहितका नेताहरु अब ढुक्क अवस्थामा छन् । यद्यपी केन्द्रले निर्णय गर्दैमा तल्लो तहसम्म चुनावी तालमेल कसरी हुन्छ ? अहिलेको मुख्य प्रश्न यहीँ बनेको छ ।

तीन तहमा बन्ने यो संयन्त्रले स्थानीय तहमा कुन पार्टीको अवस्था कस्तो छ भनेर अध्ययन गर्नेछन् । पार्टीहरुको अवस्था हेरेपछि मात्रै कहाँ कुन पार्टीका उम्मेदवार उठाउने भन्ने निर्णय समेत यही संयन्त्रले गर्नेछ । तर महानगरपालिकाको हकमा भने केन्द्रबाटै टिकट टुंगो लगाउने तयारी गरिएको छ ।यो निर्णयपछि सत्ता गठबन्धनबाहेकका अन्य दलसँग चुनावी तालमेलको ढोका समेत बन्द भएको छ । तर गठबन्धनबीच चुनावी तालमेल भएपछि सबैभन्दा धेरै दबाबमा परेको नेकपा एमालेले यसलाई लोभी पापीहरुको मिलन भनेको छ ।