काठमाडौँ — त्रिदेशीय टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलामा नेपालले पपुवा न्युगिनी (पीएनजी) लाई ३७ रनले हराएको छ । नेपालले दिएको दुई सय चार रनको लक्ष्य पछ्याएको (पीएनजी) १९ ओभर चार बलमा एक सय ६६ रनमा आलआउट भयो ।बलिङतर्फ नेपालका करण केसीले ह्याट्रिक गर्दै पाँच विकेट लिए । करणले तीन ओभर चार बलमा २१ रन दिएर पाँच विकेट लिएका हुन् । यस्तै सोमपाल कामी र अविनाश बोहराले दुईरदुई विकेट लिँदा सन्दीप लामिछानेले एक विकेट लिए ।
यसअघि कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा सात विकेट गुमाएर दुई सय तीन रन बनायो । नेपालका लागि दीपेन्द्रसिंह ऐरीले सर्वाधिक ६६ रन बनाए । यस्तै रोहित पौडेलले ४१, आशिफ शेखले ३८ रन बनाउँदा टी–२० मा डेब्यु गरेका आदिल आलमले ११ बलमा ३१ रन बनाए । यस्तै कुशल भुर्तेलले १७, आरिफ शेखले नटआउट दुई र करण केसीले १ रन बनाउँदा दीलिप नाथ शून्यमै आउट भए । बलिङतर्फ पीएनजीका कबुआ मोरेले तीन विकेट लिए । यस्तै रिले हिकुरेले दुई विकेट लिँदा नोरमन भानुआ र नोसइना पोकनाले एक एक विकेट लिए ।
प्रतिक्रिया