Breaking

काठमाडौँ-दिल्ली हरेक दिन एनएसीका दुईवटा उडान गर्छौं : मन्त्री आले


काठमाडौँ – संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले काठमाडौँ–दिल्ली हरेक दिन नेपाल वायुसेवाका जहाजमार्फत दुईवटा उडान गरिने बताएका छन् ।

काठमाडौंमा बुधबार भएको एक कार्यक्रममा मन्त्री आलेले दिल्लीमा हरेक दिन दुईवटा उडान गर्न लागिएको जानकारी दिएका हुन् । उनले बैंककमा हप्तामा दुई वटा र साउदी अरेबियाको रियादमा हप्तामा तीन वटा उडान भर्ने गरी प्रक्रिया अगाडि बढेको बताए । मन्त्री आलेले चैत ७ गतेदेखि मुम्बईमा हप्ताको तीनवटा र चैत ११ गतेदेखि बेङ्लोरमा पनि हप्तामा तीन वटा उडान भरिएको बताए ।

मन्त्री आलेले आफूले मन्त्रालय सम्हालेदेखि ग्राउन्डेड भएर बसेका जहाजहरुलाई अधिकतम समय आकाशमा उडाउने काम भएको जिकिरसमेत गरे । उनले भने, ‘म मन्त्री हुनुभन्दा पहिले घाम तापेर बसेका जहाजलाई अहिले आकाशमा उडाउने काम गरको छु, नागरिकलाई सेवा दिनु मेरो कर्तव्य हो ।’

पहिले चारदेखि पाँच घण्टा उडान भर्ने नेपाल वायुसेवा निगमका जहाजले अहिले १० देखि १३ घण्टासम्म उडान भर्ने गरेको मन्त्री आलेले जानकारी दिए ।