कमठमाडौँ — जिल्ला अदालत अछामले आफूमाथि जबरजस्ती करणी भएको भनी मुद्दा हाल्ने एक किशोरीलाई तीन वर्ष ६ महिना कैदको फैसला सुनाएको छ । न्यायाधीश नवीनकुमार जोशीको इजलासले सहमतिमा यौन सम्बन्ध राखेर बलात्कार गरेको भन्दै उजुरी दिएकी १९ वर्षीया किशोरीलाई जेल सजाय तोकेको हो । गएको माघ १५ गते घरमा हात माग्न आएको २० वर्षीय पुरूषले बलात्कार गरेको भन्दै सोही महिनाको १७ गते ती किशोरीले प्रहरीसमक्ष जाहेरी दिएकी थिइन् । फोनमा केही दिन कुराकानी भएपछि विवाहको प्रस्ताव लिएर घरमा आउने कुरा उनीहरूबीच भएको थियो। घरमा पुगेका पुरूषले किशोरीकी आमासमक्ष विवाहको कुराकानी गरेका थिए ।
सोही राति अबेरसम्म उनीहरूबीच कुराकानी भएको र किशोरीको कोठामा पुरूष पनि सुत्न गएका थिए । खाटमा बहिनीसँग सुतेकी किशोरीलाई भुइँमा सुतेका पुरूषले तानेर जबरजस्ती करणी गरेको आरोप लगाएकी थिइन् । तर पुरूषले युवतीले राति खाटबाट युवतीसँगै सुत्न आएको र पछि सहमतिमा यौन सम्पर्क भएको बयान दिएका थिए । किशोरीले पनि विवाह नगर्ने हो कि भन्ने त्रासले मुद्दा दायर गरेको बताएको कुरालाई अदालतले आधार बनाएको छ । सहमतिमा यौनसम्पर्क भएको तर, जबर्जस्ती करणी नभएको ठहर गर्दै अदालतले बलात्कारको आरोपमा पक्राउ परेका रामारोशन गाउँपालिकाका २० वर्षीय पुरूषलाई सफाइ दिएको छ । पीडित पक्षलाई फैसला चित्त नबुझे ७० दिनभित्र उच्च अदालतमा पुनरावेदन गर्न म्याद दिइएको छ ।


प्रतिक्रिया