देश

गठबन्धन एकएक किलोको ५ किलो र एमाले एक क्विन्टलको ढक: अध्यक्ष ओली


काठमाडौँ — पुर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्ता गठबन्धनलाई एकएक किलोको ५ वटा ढकसँग तुलना गरेका छन् । बुधबार भक्तपुरको सूर्यविनायकस्थित सूर्यविनायक हरित कृषि तथा थोक बजारको उद्घाटन गर्दै पूर्व प्रधानमन्त्री समेत रहेका ओलीले सत्ता गठबन्धन एकएक किलोका ५ किलो र एमाले एक्लै एक क्विन्टलको ढक बराबर रहेको बताएका हुन् । नेकपा एमाले क्विन्टलको ढक हो । एक्लै एमालेसँग लड्न अव कुनैपनि पार्टीले नसोचे र नचिताए हुन्छ’, ओलीले भने, ‘त्यसकारण उहाँहरुले गठबन्धन गरेर आउनुपर्छ भनेर भनिरहनुभएको छ ।

ओलीले गठबन्धनका केही पार्टीले गठबन्धन गर्ने भनेपनि गठबन्धन गर्न भने त्यति सजिलो नभएको टिप्पणी गरे । एमालेलाई पनि बच्चाहरूसँग लड्न समस्या हुन्छ । सक्छन् भने गरुन्, गठबन्धन, तर सजिलो छैन । लोभी पापीहरुको गठबन्धन गर्न कहाँ सजिलो हुन्छ ओलीको प्रश्न छ । उनले सजिलो नभएकै कारण स्थानीय तह निर्वाचनका लागि उम्मेदवार मनोनयन गर्न समेत दुई दिनको समय छुट्याएकोमा आपत्ति जनाए । ‘त्यही भएर मनोनयन गर्ने समय दुई दिन राखेका हुन् । एक हप्ता गराएपनि के हुन्छ मनोनयन नै हुन्छ’, ओलीको भनाइ छ ।

ओलीले मेडिकल व्यवसायी दुर्गा प्रसाईंले भक्तपुरको सूर्यविनायकस्थित सिपाडोलमा सञ्चालनमा ल्याएको तरकारी बजारको आज उद्घाटन गरेका छन् । देशकै ठूलो भनेर दाबी गरिएको २ अर्ब लागतको तरकारी बजारको बिहान ११ बजे ओलीले उद्घाटन गरेका हुन् ।