काठमाडौँ — मुलुक संघीयतामा गएसँगै गाउँ गाउँमा विकासको लहर नै आउने जनविश्वास थियो । स्थानीय स्तरमा जनप्रतिनिधिले विकास निर्माणका काम नगरेका पनि होइन, तर जनप्रतिनिधिको विकास योजना भने लज्जास्पद छ । नागरिक नेताको आलोचनामा उत्रिए पनि दलका शीर्ष नेताहरु बेतुकका योजना शिलान्यासमा व्यस्त छन । यो रोल्पा सातदोवाटोमा रोल्पा नगरपालिकाले करिव ५ करोड रुपैयाँ खर्च गरेर निर्माण गरेको भ्यूटावर हो । दुई हजार ५५ मिटर उचाइमा बनाइएको ११२ फिट अग्लो भ्यूटावरको उद्घाटन गर्न नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड हेलिकप्टर नै चढेर रोल्पा पुगे ।
भ्यूटावरको उद्धघाटन गर्दै प्रचण्डले रोल्पाले विकासमा ठूलो प्रगति गरेको दाबी गरे । सायद अध्यक्ष प्रचण्डलाई थाह नभएर होला, रोल्पा करिब २०० विद्यालयमा शिक्षक दरवन्दी शून्य छ । ठूलो संख्याका विद्यालय अभिभावकको भरमा चलेका छन् । शिक्षा क्षेत्रमा मात्र होइन रोल्पामा नागरिकको जन–जीविकासँग जोडिएका धेरै योजनाको अभाव छ । त्यस्तै सोमवार विहानै एमाले अध्यक्ष केपी शर्मा ओलीले रुपन्देहीको तिलोत्तमामा करिब ११ करोड लागतमा बनेको १० तले भ्यूटावरको उद्घाटन गरे । अनि तीनवर्षमा आफूहरुले अघि सारेका विकास पूर्वाधार पूर्णबन्दै गएको हुँकार गरे । यी दुई भ्यूटावर त उदाहरण मात्र हुन् । यस्तो भ्यूटावर देशभरका हरेक स्थानीय तहले निर्माण गरेका छन । प्रचण्ड र ओलीले भ्यूटावरको उद्घाटनपछि सामाजिक सञ्जाल नै भ्यूटावरमय बनेको छ । हरि ढकाल आफ्नो फेसबुक पेजमा भ्यूटावरहरुको फोटो सहित लेख्छन्
नेपालमा निर्माण सम्पन्न भै सकेका र निर्माणकार्य सम्पन्न हुनै लागेका भ्यू टावरहरु
यो टावरमा चढेर यौटा कविले कस्तो कविता लेख्ला ?
एउटा नेपाली श्रमजीवी यी टावरमा चड्ने अवसर पायो भने के सोच्ला ?
एउटा दार्शनिकले यो टावरबाट के देख्ला?
शायद नेताहरुले यी टावर चडेर भ्यू हेर्दै भन्नेछन,
मैले मलाई भोट हाल्ने भेडाको बथान हेर्नैको लागि मेरो कार्यकालमा यत्ति विकास चै गरे )
अर्का सामाजिक सञ्जाल प्रयोगकर्ता तथा कवि अर्जुन पराजुलीले कविता मार्फत लेख्छन्
देश बनाउने भए, महोदय
बनाउनुपर्छ
एउटा घरमा एउटा भ्यूटावर
भ्यू टावर नै नबनाए
देश केमा चढेर हेर्नु ?
हेर्दे नहेरी कसरी बनाउनु ?
नहरेर बनाउँदा
थियो आफनु देश बन्नुपर्ने
बन्यो अरुको देश भने के गर्ने ?
सामाजिक सञ्जालमा आलोचनात्मक टिकाटिप्पणी र नेताहरुप्रतिको आक्रोश अनगिन्ति छन । सामाजिक सञ्जाल मात्र राजनीतिक दलहका नेताहरुले पनि टिकाटिप्पणी गरेका छन । नेपाली कांग्रेसमा महामन्त्री गगन थापाले आगामी निर्वाचनमा जनतामाझ जाँदा भ्यूटावर जस्तो अनुत्पादक क्षेत्रमा एक रुपैयाँ पनि खर्च नगर्ने नीति नै बनाउनुपर्ने दावी गरे । शिक्षा स्वास्थ्य, सडक जस्ता महत्वपूर्ण योजनाहरु ध्यान नदिई यस्ता टावरहरु निर्माण गर्नु बजेटको दुरुपयोग भएको कतिपयको तर्क छ । अनुत्पादक क्षेत्रमा भईरहेको लगानी नेताहरुको अदुरदर्शिताका कारण भविष्यामा खतरा निम्तने सक्ने उनीहरुको ठहर छ ।
मुलुक अझै पनि अभाव, अशिक्षा, बेरोजगारी, महंगी र भोकमरी पिल्सिएकै छ । सामान्य स्वास्थ्य उपचारको अभावमा नागरिकले ज्यान गुमाउनु परेको छ । तर नागरिकको जनजीविकासँग जोडिएका विषयमा न त जनप्रतिनिधिको ध्यानकर्षण गएको छ, न त शीर्ष नेतृत्वको नै ।


प्रतिक्रिया