काठमाडौँ — हलिउड अभिनेता विल स्मिथले ओस्कर अवार्ड समारोहमा प्रस्तोता क्रिस रकलाई थप्पड हानेका थिए । यो घटनाप्रति उनले अहिले माफी मागेका छन् । उनले सामाजिक सञ्जाल्मार्फत रकसँग माफी मागेका हुन् । म सार्वजनिक रूपमा माफी माग्न चाहन्छु क्रिस । मैले लाइन क्रस गरेँ, म गलत थिएँ । म लज्जित छु । प्रेम र दयाको दुनियाँमा हिंसाको कुनै ठाउँ छैन,’ उनले सामाजिक सञ्जालमा लेखेका छन् । उनले थप लेखेका छन्, ‘म एकेडेमी, शोका निर्माता, उपस्थित सबै मानिस र दुनियाँभरबाट हेर्ने सबैसँग माफी माग्न चाहन्छु । मेरो व्यवहारले सुन्दर यात्रामा एक दाग लाग्यो ।
आगामी दिनमा यस्तो काम हुने छैन र गर्दिनँ । सोमबार बिहान भएको ओस्कर अवार्ड समारोहमा प्रस्तोता रकले विल स्मिथकी श्रीमती जेडाप्रति व्यंग्य गरेका थिए । जेडाको रोगलाई लिएर रकले मजाक गरेपछि स्मिथले मञ्चमै उक्लेर रकलाई थप्पड हानेका थिए । यसपछि रकले यो घटनालाई सामान्य रूपमै सल्टाउने प्रयास गरेका थिए । अहिले आएर विल स्मिथले उनीसँग सार्वजनिक रूपमै माफी मागेका हुन्। विलले फिल्म ‘किङ रिचार्ड’बाट उत्कृष्ट अभिनेताको अवार्ड जितेका छन्।


प्रतिक्रिया