Breaking

कांग्रेस केन्द्रीय कार्य समिति बैठक आज पनि बस्दै


काठमाडौँ — नेपाली कांग्रेसको केन्द्रीय कार्य समिति बैठक आज पनि जारी रहने छ । शुक्रबारदेखि सुरु भएको बैठक आज अपरान्ह तीन बजे बस्ने पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

कांग्रेसमा यतिखेर आसन्न स्थानीय तहको निर्वाचनमा सत्तागठबन्धनमा रहेका दलसँग चुनावी तालमेल गर्ने सम्बन्धमा बहस जारी छ । बैठकमा चुनावी तालमेल गर्नुपर्ने र निर्वाचनमा एक्लै जानुपर्ने सम्बन्धमा केन्द्रीय सदस्यले फरकफरक धारणा व्यक्त राखिरहेका छन् । हिजो तेस्रो दिनसम्मको बैठकमा सबै पदाधिकारी र केन्द्रीय सदस्यले आफ्नो धारणा व्यक्त गर्ने क्रम सम्पन्न भएको छ ।

बैठकमा चुनावी तालमेलका साथै निर्वाचनमा पार्टीलाई कसरी मजबुत बनाउने, निर्वाचनको तयारीका लागि पार्टीले सञ्चालन गरिरहेको एकमहिने ‘घरघर जाऔँ, कांग्रेस जिताऔँ’ अभियानको समीक्षालगायत विषयमा छलफल भएको थियो ।

यसका लागि केन्द्रले सैद्धान्तिक निर्णय गर्नुपर्ने सुझाव आएको र त्यसैका आधारमा आज दिउँसो ३ बजे बैठकमा आवश्यक निर्णय हुने उनको भनाइ छ । यसैगरी कतिपय पदाधिकारी र केन्द्रीय सदस्यले भने चुनावी तालमेल नगरी एक्लै निर्वाचनमा जाँदा राम्रो हुने सुझाव दिएका थिए ।