देश

आफ्ना उम्मेदवार नउठाउने,जनपक्षीय उम्मेदवारलाई समर्थन गर्ने: विप्लव


काठमाडौँ — आगामी स्थानीय तह निर्वाचनमा सहभागी नहुने निर्णय गर्दै नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीको केन्द्रीय समिति बैठक सकिएको छ । चैत ४ गतेबाट कपिलवस्तुको शिवगढीमा सुरु भएको सो पार्टीको बैठक १० दिन बसेर सोमवार सकिएको हो । मुख्यगरी तीनवटा विषयमा छलफल र निर्णय गर्दै बैठक सकिएको नेता धर्मेन्द्र बास्तोलाले जानकारी दिए ।

‘तीनवटा विषय बैठकका एजेण्डा थिए । जसमा महाधिवेशन, एमसीसी र निर्वाचनको विषयमा छलफल र निर्णय भयो’, नेता बास्तोलाले रातोपाटीसँग भने, ‘महाधिवेशनबारे मंसिर पुसमा गर्नेगरी पछि निर्णय गर्ने, एमसीसी विरुद्ध आन्दोलन गर्ने र स्थानीय तह निर्वाचनमा भाग नलिने निर्णय भएको छ ।’ यद्यपी संस्थागत रुपमा पार्टी निर्वाचनमा नगएपनि व्यक्तिगत रुपमा जनपक्षीय उम्मेदवारलाई सघाउन सक्ने निर्णय गरेको सो पार्टीले जनाएको छ ।