देश

स्थानीय तहको निर्वाचनमा विकट स्थानमा सामग्री ढुवानीको जिम्मा सेनालाई


काठमाडौँ — आगामी ३० वैशाखमा हुन लागेको स्थानीय तह निर्वाचनमा विकट स्थानमा मतपत्र, मतपेटिका र निर्वाचन सामग्री ढुवानीको जिम्मा नेपाली सेनालाई दिइने भएको छ । गृहमन्त्री बालकृष्ण खाँणको नेतृत्वमा शुक्रबार बसेको केन्द्रीय सुरक्षा समितिको बैठकले पारित गरेको ‘स्थानीय तह निर्वाचन एकीकृत सुरक्षा नीति’ले विकट स्थानमा निर्वाचन सामग्री ढुवानीको जिम्मा सेनालाई दिएको हो । निर्वाचनका लागि मतपत्र छपाइसम्बन्धी सुरक्षाको जिम्मा पनि सेनालाई दिइने भएको गृह मन्त्रालयका एक अधिकारीले बताए ।

निर्वाचन सुरक्षाका लागि सुरक्षाकर्मीको अभाव हुने हुँदा हाल नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले गर्दै आएको महत्वपूर्ण प्रतिष्ठान र संरचनाहरुको सुरक्षा व्यवस्थाको जिम्मा पनि सेनालाई दिइने भएको छ । मन्त्रालयका एक अधिकारी भन्छन्, ‘देशभरका कारागार र विमानस्थलको सुरक्षामा खटिएका नेपाल प्रहरी र सशस्त्र प्रहरीका कर्मचारीलाई पनि निर्वाचन सुरक्षामा खटाइनेछ र त्यहाँ सेनालाई पठाइनेछ ।’ शान्ति सुरक्षा कायम गराउने जिम्मेवारी पाएको नेपाल प्रहरीको ठूलो जनशक्ति निर्वाचनमा खटिने हुँदा मतदानको ३० दिनअघिबाट सेनालाई पनि पट्रोलिङमा खटाउने व्यवस्था एकीकृत सुरक्षा नीतिमा गरिएको छ ।