Breaking

कांग्रेसले स्थानीय तह निर्वाचनमा तालमेल गर्ने–नगर्ने आज टुंगो लगाउने


काठमाडौँ – नेपाली कांग्रेसले स्थानीय तहको आगामी निर्वाचनमा गठबन्धन गर्ने नगर्नेबारे आज निर्णय गर्ने भएको छ । केन्द्रीय कार्यालय सानेपामा जारी केन्द्रीय कार्य समिति बैठकमा धारणा राख्ने नेताहरुले कतिपय ठाउँमा गठबन्धनसँग समझदारी गरेर नै जानुपर्नेमा जोड दिएका छन् ।

आज विहान साढे ११ बजे बस्ने बैठकले गठबन्धन गर्ने वा नगर्ने बारे टुंगो लगाउने प्रवक्ता डाक्टर प्रकाशशरण महतले जानकारी दिनुभयो । यसअघि पहिलो दिन गत शुक्रबारको बैठकमा ६ प्रदेशका सभापतिसहित २७ जनाले आफ्नो धारणा राखेका थिए ।

केन्द्रीय सदस्य चुनावी गठबन्धन गर्ने र नगर्ने पक्षमा विभाजित छन् । चुनावी गठबन्धनलाई लिएर कांग्रेसमा स्पष्ट दुई धार छ ।

प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवाले सत्ता गठबन्धनमा आबद्ध दलसँग तालमेल गरेर चुनावमा जाने सार्वजनिक अभिव्यक्ति दिँदै आउनुभएको छ । तर, संस्थापन इतर समूहका नेताहरु भने चुनावी तालमेलको विपक्षमा छन् ।