Breaking

चिनियाँ विदेशमन्त्री वाङ यीको भ्रमण कति सफल ?, नेपाल–चीन सम्बन्धका जानकार डा. झाको प्रतिक्रिया


काठमाडौँ – नेपाल–चीन सम्बन्धका जानकार डा.राजिव झाले नेपालले चिनियाँ विदेशमन्त्रीको नेपाल भ्रमणलाई उचित सदुपयोग गर्न नसकेको बताउनु भएको छ । शुक्रवार तीन दिने नेपाल भ्रमणका लागि आउनुभएका चिनियाँ विदेशमन्त्री वाङ यीको भ्रमणलाई नेपालले उचित सदुपयोग गर्न नसकेको बताउनु भएको हो ।

उहाँले चिनियाँ विदेशमन्त्री यीको नेपाल भ्रमणका लागि नेपालले तयारी नै गर्न नसकेको पनि बताउनु भयो । झाले नेपाल र चीन सरकारबीच शनिवार भएको द्वीपक्षीय वार्तामा बीआरआई सम्बन्धिका कुनै पनि योजनाहरु नपर्नु अनौठो भएको बताउनु भयो ।

उहाँले विदेशमन्त्री यी नेपाल आउनुपूर्व बीआरआई सम्बन्धी परियोजनाका बारेमा पनि छलफल गर्ने कुरा भएपनि त्यो बारेमा कुनै पनि सम्झौताका बारेमा सरकारले कुरा उठाउन नसकेको बताउनु भयो । यसले नेपाल पक्षले बीआरआईको बारेमा कुरा गर्नै नचाहेको हो कि भन्ने आशंका पैदा भएको पनि बताउनु भयो ।

डा. झाले भन्नुभयो, ‘नेपालले चिनियाँ विदेशमन्त्री वाङ यीको नेपाल भ्रमणलाई उपयोग गर्न सकेन । नेपालको तयारी नै पुगेन वा नेपाल सरकारले वाङ यीको भिजिटलाई त्यति महत्व दिएको देखिएन । कारण के हो भने हिजो जब द्वीपक्षिय वार्ता भयो, त्यसमा विभिन्न सम्झौताहरु हस्ताक्षर गर्ने कुराहरु थिए ।

त्यसमा बीआरआई सम्बन्धिका योजनाहरु एउटा पनि परेको देखिएन । यो अचम्मको कुरा भयो । मैले सुनेको वाङ यी आउँदा विशेष रुपमा नेपाल सरकारले बीआरआई अन्तर्गत भएका सम्झौताहरु जुन २०१९ अक्टुबरमा प्रेसिडेन्ट सीको भिजिट हुँदा भएको थियो त्यसलाई नै अघि बढाउने कुरो थियो । तर यहाँ आउँदा ती परियोजनामध्ये कुनै पनि परेका देखिएन ।

कारण नेपाली पक्षले तयार नगरेको पनि देखियो । गर्न नचाहेको हो कि जस्तो पनि देखियो । नेपालले यो भिजिटलाई शतप्रशित सदुपयोग गर्न सकेन ।’

जानकार डा.झाले चीन सरकारले नेपाललाई विशेष महत्वका साथ विदेशमन्त्रीको भिजिट गराएपनि नेपालले भने खासै चासो नदेखाएको गुनासो गर्नुभयो । शुक्रवार तीन दिने नेपाल भ्रमणमा आउनुभएका चिनियाँ विदेशमन्त्री यी आज स्वदेश फर्किनुभएको छ ।

स्वदेश फर्किनुअघि विदेशमन्त्री यीले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवा, परराष्ट्रमन्त्री डा. नारायण खड्का, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, नेकपा माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालसँग भेट गर्नुभएको थियो ।

भेटमा बिआरआई परियोजना अघि बढाउने, नेपालको स्वास्थ्य, शिक्षा, रोजगारी र आर्थिका अवस्थालाई उकास्ने, सीमानाका बलियो बनाउने, नाकाहरु खोल्ने लगायतका बारेमा छलफल भएको थियो ।