काठमाडौँ – भूमि, व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री शशी श्रेष्ठले मन्त्रालय सम्हालेपछि हालसम्म गाउँब्लकमा रहेका करिब २० हजार भूमिविहिनले जग्गा धनी दर्ता प्रमाण पूर्जा (लालपुर्जा) वितरण गरिएको छ ।
बाँकेको कोहलपुर नगरपालिका वडा नं.३ को गाउँब्लकमा रहेका ९६ घरपरिवारलाई आज लालपुर्जा वितरण गर्दै मन्त्री श्रेष्ठले यसवर्षको प्राथमिकतामा नै नरहेको भएपनि आफूले मन्त्रालय सम्हालेपछि गाउँब्लकमा लालपुर्जा वितरणको कामलाई पहिलो प्राथमिकतामा राखेर काम आगाडि बढाएको बताइन् ।
मन्त्री श्रेष्ठले चार महिनाको अवधिमा गाउँब्लमा रहेका १९ हजार ६ सयभन्दा बढी भूमिहीनलाई लालपुर्जा वितरण गरिसकिएको भन्दै अबको एकवर्ष भित्र सबै गाउँब्लकको समस्या समाधान गरिसक्ने गरि कामलाई तिब्र पारिएको बताइन् ।
संविधानमा भएको नागरिकको हक कार्यान्वयनलाई अहिलेको सरकारले पहिलो प्राथमिकतामा राखेको भन्दै उनले जनताको काम गर्न स्थानीय तहका जनप्रतिनिधि र कर्मचारीलाई इमान्दार भएर लाग्न आग्रह गरिन् ।
मन्त्री श्रेष्ठले यसअघि महोत्तरीको रामगोपालपुर, सप्तरी, धनुषा, सुनसरी, चितवन इच्छाकामना गाउँपालिका, काठमाडौंको कीर्तिपुर नगरपालिका, भक्तपुरको मध्यपुर ठिमी नगरपालिका, तनहुँको बन्दीपुर र चितवनको भरतपुर महानगरपालिकाको गाउँब्लकमा रहेका भूमि विहिनहरुलाई लालपुर्जा वितरण गरेकी थिइन् ।


प्रतिक्रिया