देश

आवश्यकताको आधारमा गठबन्धन हुन्छ: प्रकाशशरण महत


काठमाण्डौँ — सत्तारुढ प्रमुख घटक नेपाली कांग्रेसका प्रवक्ता डा प्रकाशशरण महतले आउँदो स्थानीय तहको चुनावमा आवश्यकताको आधारमा गठबन्धन गर्ने पक्षमा आफ्नो पार्टी रहेको बताएका छन् । आज आइतवार पार्टी कार्यालय सानेपामा बसेको केन्द्रीय समितिको बैठकपछि सञ्चारकर्मीहरूसँग बोल्दै प्रवक्ता महतले यस्तो बताएका हुन् । उहाँले हरेक वडा, पालिका र महानगरपालिकामा पार्टीले कसरी धेरैभन्दा धेरै सिट जित्छ र पार्टी बलियो बन्छ भन्ने कुरालाई ध्यानमा राखेर गठबन्धन हुने बताउनुभयो ।

प्रवक्ता महतले भन्नुभयो, ‘आवश्यकताको सिद्धान्तमा चुनावमा जाने भनेको भावनाको विषय मात्रै होइन, चुनावमा बढीभन्दा बढी सफलता हासिल गर्नका लागि हामी चुनावमा जाने र बढीभन्दा बढी सफलता हासिल गर्न कतिपय ठाउँमा समझदारी गरेर गठबन्धन गरेर पनि जानुपर्दछ भन्ने नै धेरैजसो साथीहरूको मत छ । के गर्दा पार्टीलाई धेरै फाइदा हुन्छ, बढी सिट जित्न सकिन्छ । त्योभन्दा अरू कुनै मापदण्ड हुन सक्दैन । आवश्यकताको सिद्धान्तलाई मध्यनजर राखेर निर्णय हुन्छ ।’