Breaking

चिनियाँ विदेशमन्त्री वाङ : आज राष्ट्रपति, ओली र प्रचण्डसँग भेटवार्ता गर्दै


काठमाडौँ — नेपाल भ्रमणमा रहेका चीनका विदेशमन्त्री वाङ यीले आज (आइतबार) राष्ट्रपति विद्यादेवी भण्डारी, पूर्वप्रधानमन्त्रीद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गर्दै छन् ।

परराष्ट्र मन्त्रालय स्रोतका अनुसार वाङले अहिले बिहान १० बजे राष्ट्रपति विद्यादेवी भण्डारीलाई शीतल निवासमा शिष्टाचार भेटवार्ता गर्नेछन् । त्यसपछि चिनियाँ विदेशमन्त्रीले प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष ओलीलाई बिहान ११ः१० देखि ११ः४० बजेसम्म होटल हायातमा भेट्ने कार्यक्रम छ ।

अन्त्यमा भने चिनियाँ विदेशमन्त्री वाङले सत्तारुढ नेकपा माओवादी केन्द्रका अध्यक्ष ‘प्रचण्ड’लाई होटल हायातमै ११ः४५ देखि १२ः१५ सम्म भेट्नेछन् ।

चिनियाँ विदेशमन्त्री तीन दिनको नेपाल बसाइपछि सकेर आइतबार ३ बजे बेइजिङका लागि उड्ने कार्यक्रम छ । परराष्ट्र स्रोतका अनुसार विदेशमन्त्री वाङ नेतृत्वको २५ सदस्यीय टोलीमा दुई जना चिनियाँ सहायक मन्त्रीसहितका वरिष्ठ सरकारी अधिकारी छन् । सबै उच्चस्तरीय भेटवार्तामा नेपालस्थित चिनियाँ राजदूत होउ यान्छी पनि सहभागी भइरहेकी छन् ।

यसअघि शनिबार वाङले प्रधानमन्त्री शेरबहादुर देउवा, परराष्ट्रमन्त्री डा. नारायण खड्कालाई छुट्टाछुट्टै र संयुक्त भेटवार्ता गरिसकेका छन् ।