Breaking

ओली–माधवको लडाइँ ‘तँ तँ र मँ मँ’को अवस्थामा, पूर्वराजासँग मिल्न गएका हुन् त ओली ?


काठमाडौँ – स्थानीय तहको निर्वाचन नजिकिँदै जाँदा राजनीतिक दलका शीर्ष नेतृत्व चुनावी दौडमा छन् । भर्खरै विभाजित भएर फरकफरक मानो खाएका एमाले र समाजवादी पनि चुनावी मैदानमा छन् । तर विभाजनको प्रतिशोध र आफ्ना रणनीति प्रस्तुत गर्न लागिपरेका उनीहरु एकअर्कामाथि आक्षेप लगाउनमा केन्द्रीत बनेका छन् ।

स्थानीय तहको निर्वाचन त एक बहाना हो । मुख्य लडाइँ त यतिबेला नेकपा एमाले र नेकपा एकीकृत समाजवादीबीच चुनावी मैदानमा भइरहेको छ । र उनीहरुको लडाइँ चुनावी हारजीत भन्दा शिर्फ एकअर्कालाई खुइल्याउनेतर्फमात्रै केन्द्रीत नभइ व्यक्तिगत आपेक्षा लगाउनेतहमै चुलिएको छ ।

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई पूर्व राजाका अनुयायीको रुपमा चित्रण गरे । निर्वाचनकै दौरानमा शुक्रबार काठमाडौंको एक कार्यक्रममा बोल्दै नेपालले स्थानीय तहको चुनावी साँठगाँठका लागि ओली सुटुक्क पूर्वराजा ज्ञानेन्द्र शाहको निवासमा पुग्ने गरेको आरोप माधव नेपालले लगाइदिए ।

नेपालले ओलीलाई यसअघि पनि गणतन्त्रविरोधीको आरोप नलगाएका होइन । अनि ओलीले समेत आफैले टाँसिदिएको फुलीको दम्भ देखाएर एमालेकै खेदो खन्न लागिपरेको भन्दै गालीबेइज्जत गर्ने गरेका छन् ।

मुलतः एकातिर नेपाली कांग्रेसको बलमा माधव नेपालसहितको मोर्चाएमालेविरुद्ध परेड खेलिरहेको छ भने अर्काेतिर माधव नेपालहरुलाई पत्तासाप बनाउनकै लागि राप्रपा र लोसपासहितका दलहरुलाई बोकेर ओली चुनावी मैदानमा लामबद्ध हुन खोजिरहेका छन् ।

स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा यी दुई पात्रबीच बढ्दो तनाव छ । निर्वाचनमा आफु सुरक्षित हुनका लागि यी दुवैथरि अरुको साहरा खोजिरहेका छन् । माधव नेपालहरु काँग्रेसीले बोकिदिओस् र आफु सुरक्षित हुन पाइयोस् भन्ने गरि तालमेलको हारगुहारमा छन् ।

तथापी काँग्रेसले उनीहरुको गुहारलाई पत्याएको छैन । आफैमा विश्वस्त नभएको एमाले पनि साना–साना टुक्राहरुसँग तालमेल गर्दैगत निर्वाचनको साख जोगाउन अभियानमा लागिपरेको छ ।

तर पनि दम्भ ७० प्रतिशत मतपरिणामको छ । कम्युनिष्टहरु विभाजित बनेका बेला काँग्रेस पहिलो बन्ने सपना सार्थक बनाउन लागिपरेको छ । तर त्यही कांग्रेसी अपमानको आहालमा बसेर कम्युनिस्टहरु आपसमै गालीगलौजमा उत्रेका छन्  ।