Breaking

वाङ यीको दोस्रो दिन कस्तो रह्यो नेपाल भ्रमण ? (भिडियोसहित)


काठमाडौँ – चिनियाँ विदेशमन्त्री तथा स्टेट काउन्सिलर वाङ यी तीन दिने औपचारिक नेपाल भ्रमणमा छन । शुक्रबार काठमाडौ आइपुगेका मन्त्री यीले शनिवार पदयात्रा सहित उच्चस्तरीय भेटघाटमा सहभागी भएका छन ।

चिनिया विदेशमन्त्री तथा स्टेट काउन्सिलर वाङ यी १९ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै भारत हुँदै नेपालको तीन दिने औपचारिक भ्रमणमा छन । शुक्रबार कुनै औपचारिक कार्यक्रममा सामेल नभएका वाङले शनिवार भने भ्रमण र भेटमा व्यस्त बने । शनिवार विहान शिवपुरी राष्ट्रिय निकुञ्ज अन्तर्गत शिवपुरी–नागार्जुन पदयात्रा गरेका छन ।

पहिलो पटक नेपाल आउँदा नगरकोट, दोस्रो पटक नेपाल आउँदा चन्द्रागिरी पुगेका वाङ आफ्नो तेस्रो भ्रमणमा शिवरपुरी गएका हुन् । मन्त्री वाङले अपरान्ह सिंहदरबारमा पुगि नेपालका समकक्षी परराष्ट्र मन्त्री नारायण खड्कासँग भेटवार्ता गरेका छन् ।

भेटवार्तापछि नेपाल–चीन विदेश मन्त्री स्तरीय द्विपक्षीय वार्ता समेत सम्पन्न भएको छ । द्विपक्षीय वार्तापछि केरुङ–काठमाडौँ रेल मार्ग निर्माणका लागि विस्तृत रुपमा अध्ययन गर्ने, नेपाल र चीन जोड्ने ४०० केभीको विद्युत प्रशारणलाइन बनाउने, लगायत नेपाल र चीनबीच विभिन्न ९ वटा सहमतिमा हस्ताक्षर भएको छ ।

भेटवार्तामा नेपालका तर्फबाट विभिन्न मन्त्रालयका सचिव तथा उच्च पदस्थ अधिकारीहरुको सहभागिता थियो भने चीनका तर्फबाट मन्त्री वाङसँगै राजदूत होउ यान्छीसहितका अधिकारीहरु सहभागी रहेका थिए ।

आज नै प्रधानमन्त्री शेरबहादुर देउवा र विदेशमन्त्री वाङ यीबीच प्रधानमन्त्री निवास बालुवाटारमा भेटवार्ता जारी छ । बालुवाटारबाट नै संयुतm रुपमा चीनको सहुलियतपूर्ण ऋणमा बनेको पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको भर्चुअल रुपमा उद्घाटन गर्ने जनाएको छ ।

मन्त्री वाङले आइतबार बिहान राष्ट्रपति विद्यादेवी भण्डारी, एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गर्ने कार्यतालिका रहेको छ । शनिवार दुई पक्षीय औपचारिका भेटघाटमा सहभागी मन्त्री यी आइतावारको भेटघाट तथा छलफल बढी राजनीतिक हुनेछ ।

विशेषत नेपालमा रहेका विभिन्न कम्युनिष्ट पार्टी र चिनिया कम्युनिष्ट पार्टीबीचको सहकार्य मात्र नभई चीन नेपालमा विश्वासिलो साझेदार खोजी रहेका बेला नेपालका कम्युनिष्ट पार्टीहरुसँगको भेट चासोपूर्ण छ ।

नेपालमा कम्युनिष्ट पार्टीहरुको फुट र जुट अनि चिनिया चासो महत्वपूर्ण रुपमा हेरिएको छ । अर्कोतर्फ युक्रेन रुस युद्धका कारण विश्व धूर्विकृत भईरहेका बेला, नेपालमा अमेरिकी सहयोग परियोजना एमसीसी पारित भए पश्चात भएको यो भ्रमण अर्थपूर्ण मानिएको छ ।