Breaking

एमालेसँग एक्लै भिड्न डराएको हो काँग्रेस ? किन गठबन्धन चहान्छन देउवा ?


काठमाडौँ – कांग्रेसभित्र चुनावी गठबन्धनका बारे मत–मन्तार बढ्दै जाँदा प्रधानमन्त्री तथा सभापति शेरबहादुर देउवा भने जसरी पनि गठबन्धनकै फेरो समात्ने अडानमा देखिएका छन । आखिर किन कांग्रेसलाई गठबन्धन आवश्यक छ त ? के गठवन्धन विना एक्ले निर्वाचनमा होमिन काँग्रेस सभापतिले आँट नगरेका हुन् ?

कांग्रेसभित्र चुनावसम्मै वर्तमान गठबन्धनसहित जान नहुने मत विस्तारै शक्तिशाली बन्दै गएको छ । महानगरमा गठबन्धन हुने चर्चाका बीच चितवनको भरपुर नगरबाहेकमा अघि बढ्न चितवनका जिल्लास्तरका नेताहरुले दवाव बढाएका छन् भने रुकुम रोल्पा लगायका जिल्लामा पनि केन्द्रको रणनीति विपरितको अवस्था देखिएको छ ।

विशेषतः डा.शेखर कोइराला पक्षले गठबन्धनसहित निर्वाचनमा जाने कुराको विरोध गरिहेको छ । केन्द्रबाटै चुनावी तालमेलको निर्णय गर्दा भारतीय कांग्रेसको जस्तै हालत हुने बताएका उनीहरुले कांग्रेसको स्थिति राम्रो भइरहेको अवस्थामा गठबन्धन गर्नुपर्ने जरुरी नरहेको निष्कर्ष निकालेका छन् ।

गठबन्धन गर्ने भए मतभारलाई आधार बनाउनुपर्ने र गठबन्धन बारे टिकट वितरण गर्ने अधिकार प्राप्त समितिलाई नै दिनुपर्ने उनीहरुको भनाई छ । सोलोडोलो तह छुट्टाएर गठबन्धन गर्ने र माथिल्लो तहले यस्तो निर्णय लाद्ने हो भने त्यो प्रत्युत्पादक हुने उनीहरुको भनाई छ ।

गत निर्वाचनमा झैँ माओवादीले काँग्रेसलाई धोका दिन सक्ने तर्फ सचेत हुनु पर्ने उनीहरुको भनाई छ । नेकपा तथा एमाले समेत फुटेर कम्युनिष्टहरु छिन्नभिन्न भएका अहिले वेला जस्तो कांग्रेस एक्लै चुनाव लड्ने उपयुक्त समय कहिल्यै नहुने उनीहरुको तर्क छ ।

तर प्रधानमन्त्री तथा सभापति शेरबहादुर देउवा भने प्रचण्ड, माधव नेपालसंगको सत्ता गठवन्धनलाई निर्वाचनमा पनि सँगसँगै लैजान पार्टीभित्रका असन्तुष्ट पक्षलाई पेलेरै अघि बढ्ने मुडमा देखिएका छन् ।

माओवादीको बर्चस्व रहेका स्थानमा पनि माओवादीसँग मिलेर जाँदा नै कांग्रेसलाई फाईदा रहेको सभापति देउवाको आँकलन छ । तर जनयुद्धकालिन चोटको पिडा नभुलेका ती स्थानका नेता कार्यकर्ताले गठबन्धन स्वीकार्ने अवस्था छैन । बरु आफ्नो मर्ममा घात परेको भन्दै अन्तरघात कै सम्भावना बढ्ने देखिन्छ ।

फलत ः केन्द्रीय स्तरबाटै गठबन्धन बारे निर्णय गर्दिए आफ्नै पार्टी छिन्नभिन्न हुने स्थानीय स्तरमै त्यो अधिकार दिए एमालेसंग पनि गठबन्धनको अवस्था आउन सक्ने जोखिममा देउवा देखिएका छन् । यहि कारण देउवा केन्द्रस्तरबाटै गठबन्धन बारे निर्णय हुनुपर्ने पक्षमा देखिका छन् ।

तर अधिंकाश नेताहरु भने केन्द्रबाट त्यो यसरी निर्णय लाद्न नहुने तथा आफू बलियो भएको स्थानमा गठबन्धन आवश्यक नपर्ने पक्षमा देखिएका छन् । यो आफ्नो मात्र स्वार्थ केन्द्रित मागको असर कस्तो पर्छ भन्ने विषयले भने देउवालाई चिन्तित बनाएको हो ।

आफ्नो जित भन्दा पनि एमालेको हारको लक्ष्य बनाएका माओवादी र एकीकृत समाजवादीले आवश्यकता अनुसार गठबन्धन हुनसक्ने प्रस्ताव स्वीकार गर्न सक्नेमा देउवा विश्वस्त भए पनि त्यहि अधिकारको दुरुप्रयोग गर्दै एमालेसंग पनि मिले गठबन्धनमा पर्ने प्रभावको डर देउवामा देखिन्छ ।

त्यसमाथि पनि आवश्यकता अनुसार नेकपा एमालेसँग समेत गठबन्धन गर्नुपर्ने प्रस्ताव केन्द्रीय कार्यसमितिको बैठकमै समेत उठेको छ । देउवा स्थानीय तहमा भन्दा पनि संसदीय निर्वाचनको मुख हेरेर गठबन्धन प्रति आकर्षित देखिएका हुन् ।

विना गठबन्धन आगामी दिनमा नेतृत्वमा पुग्न नसकिनेमा प्रष्ट रहेका उनी स्थानीय तह निर्वाचनमा हुने चुकले संसदीय निर्वाचनमा पार्ने प्रभावप्रति सजक देखिएका छन् । अर्कातर्फ वाम एकताका कारण ७४ सालमा भोगेको हारको दृश्य पनि उनको आँखामा झल्झल्ती नाचिरहेको छ ।

तर काँग्रेसमा पार्टी नेतृत्वको नीतिलाई तलका नेता कार्यकर्ताले अघिल्ला निर्वाचनहरुमा पनि इमान्दारीपूर्वक कार्यान्वयन नगरी बरु आफ्नै पार्टीको उमेदवारप्रति धोकाधडीको खेल खेलेको तितो उदाहरण पनि धेरै पहिलेको चाहीँ होइन । भन्न सकिन्न, कतै यस पटक पनि देउवाले त्यस्तै नियती पार्टीलाई भोगाउने त होइनन् ?