Breaking

देउवाको मनोमानीविरुद्ध शेखरको विद्रोह, समानन्तर कमिटी गठन गर्ने चेतावनी


काठमाडौँ – मुलुकको व्यवस्था परिवर्तनमा गर्विलो इतिहास बोकेको नेपाल विद्यार्थी संघ विगत केहि वर्षदेखि अस्तव्यस्त अवस्थामा छ । पार्टीभित्रको गुटगत विभाजनको शिकार बनेको नेविसंघ विगत केहि वर्षयता गतिहिन जस्तै बनेको छ । गुटको राजनीतिले पिल्सिएको नेविसंघ थप विवाद उन्मूख बनेको छ ।

लोकतन्त्रको मसिहा ठान्ने, लोकतान्त्रिक पार्टीको हुँकार गर्ने नेपाली कांग्रेस आफै पार्टीको नेतृत्व चयनमा लोकतान्त्रिक अभ्यास गर्न चुकिरहेको छ । त्यसको प्रत्यक्ष असर मुलुकको पुरानो र ठुलो पार्टी कांग्रेस कमजोर अवस्थामा छ । तर यसतर्फ कांग्रेसको ध्यानकर्षण पटक्कै भएको छैन ।

भातृ तथा शुभेच्छुक संगठनहरु लथालिंग अवस्थामा छ । लामो रस्साकस्सीपछि पार्टीको अस्तित्व जोगाउँदै महाधिवेशन गराएको कांग्रेस नेतृत्वले महाधिवेशन ताका अब कांग्रेस एकढिक्का हुने सबै भातृसंगठनलाई चुस्तदुरुस्त बनाउने उद्घोष समेत गरेका थिए ।

महाधिवेसनपछि कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठकले फागुन ३ मा नेविसंघ र तरुण दलसहित १० भ्रातृ संस्था विघटन गर्दै सबै पक्षसँग परामर्श गरेर फागुन मसान्तभित्र तदर्थ समिति गठन गर्ने जिम्मा सभापति देउवालाई दिएको थियो ।

सोहि अनुरुप महाधिवेशन सम्पन्न भएको करिव तीन महिनापछि प्रधानमन्त्री समेत रहेका पार्टी सभापति देउवाले प्रभावशाली संगठनको रुपमा रहेको नेपाल विद्यार्थी संघ र तरुण दलमा क्रमश दुजाङ शेर्पा र विद्धान गुरुङलाई अध्यक्षमा चयन गरेको छ ।

यता देउवाका प्रतिस्पर्धि संस्थापनइतर पक्ष डाक्टर शेखर कोइराला समूहले भने एकलौटी रूपमा अध्यक्ष तोकिएको भन्दै असन्तुष्टि मात्र होइन समानन्तर कमिटि नै गठन गर्ने चेतावनी दिएका छन् । चैत्र १४ गते आफू पक्षका तरुण र विद्यार्थी समूहको संयुक्त भेला बोलाएको छ ।

प्रक्रियागत रुपमा नगई देउवाले परामर्श नै नगरी नेतृत्व चयन गरेको भन्दै कोइराला पक्षका नेताहरुले आपत्ति जनाएको छन् । दुवै संगठनमा देउवा पक्षका नेताहरु नेतृत्वमा चयन गरेको भन्दै संस्थापन इतरले विरोध चर्किएको छ ।

यद्यपि यो विरोधको कुनै तुक नभएको कतिपय कांग्रेस नेताहरुको तर्क छ । विरोध गर्नुभन्दा यो कार्यसमितिलाई छिटोभन्दा छिटो पूर्णता दिएर स्थानीय तह निर्वाचन केन्द्रित हुनुपर्ने उनीहरुको भनाई छ । संगठन र पार्टी नेतृत्वको कमजोरीका कारण पार्टीभित्र संरचनागत तन्दुरुस्ती नभएको स्वीकार गर्दै अब जसरी पनि संरचनागत समस्याको अन्त्य गर्नुपर्ने उनीहरुकोे जोड छ ।

नेविसंघ,तरुण दल लगायत पार्टीका भातृसंगठनहरु नेतृत्व उत्पादन गर्ने महत्वपूर्ण थलो हो । अहिले पार्टीको शीर्ष नेतृत्व, मुलुक हाँक्ने धेरै मन्त्रीहरु यी नै भातृसंगठनलाई टेकेर नेतृत्वमा पुगे तर ती नै व्यक्तिहरु भातृ संगठनको दयनीय अवस्थाप्रति उदासिन देखिन्छन् ।