काठमाडौँ — चिनियाँ राष्ट्रपति सी चिनफिङ र बेलायती प्रधानमन्त्री बोरिस जोन्सनबीच शुक्रबार फोनवार्ता भएको छ ।
वार्ताको क्रमममा चीन र बेलायतबीच राजदूतस्तरमा कूटनीतिक सम्बन्ध स्थापना भएको ५०औँ वर्ष पुगेको उल्लेख गर्दै सीले विगत आधा शताब्दीमा द्विपक्षीय सम्बन्धले केही उतार चढावका बाबजुद समग्रमा सम्बन्ध निरन्तर विस्तार भएको बताए ।
दुई देशबीचको व्यापार ३० करोड डलरबाट बढेर एक खर्ब डलर पुगेको छ। दुईतर्फी लगानी बजार झन्डै शून्यबाट बढेर ५० अर्ब डलर पुगेको सीले बताए ।
चिनियाँ राष्ट्रपति सीले भने, ‘दुई देशले विश्वव्यापी विकास र जलवायु परिवर्तन जस्ता क्षेत्रमा समन्वय र सहकार्य गरेका छन् र मानवताको साझा चुनौतीको सामना गर्न सकारात्मक योगदान दिएका छन् ।’
यसैबीच, जोन्सनले बेलायत र चीनको सम्बन्ध आफ्ना लागि, अत्यन्तै महत्वपूर्ण रहेको बताए । बेलायत र चीनबीचको व्यापार ह्वात्तै बढ्दै गएको छ । बेलायतका चिनियाँ विद्यार्थी अन्य कुनै पनि युरोपेली मुलुकका विद्यार्थीभन्दा बढी छन् । जसले बेलायत निकै गौरवान्वित रहेको उनले बताए ।
संयुक्त राष्ट्र सुरक्षा परिषद्का दुई स्थायी सदस्य, बेलायत र चीनले धेरै विषयहरूमा साझा चासो बाँडेका छन् र धेरै कुरामा एक अर्कासँग काम गर्नसक्ने प्रधानमन्त्री जोन्सनले बताए । बेलायत चीनसँग इमानदार वार्ता गर्न, द्विपक्षीय आदान–प्रदान र सहयोगलाई सुदृढ पार्न, द्विपक्षीय आर्थिक तथा व्यापार सहयोग विस्तार गर्न र जलवायु परिवर्तन र जैविक विविधताजस्ता विश्वव्यापी विषय तथा क्षेत्रीय हटस्पटहरूमा सञ्चार तथा समन्वयलाई गहिरो बनाउन इच्छुक भएको पनि जोन्सनले उल्लेख गरे ।
दुई नेताहरूले युक्रेनको अवस्थाबारे पनि विचार आदानप्रदान गरेका बताइएको छ । उक्त अवसरमा चीनको सिद्धान्त र अडानको व्याख्या गर्दै अन्तर्राष्ट्रिय समुदायले साँच्चिकै शान्ति वार्तालाई बढावा दिनुपर्छ, युक्रेन मुद्दाको राजनीतिक समाधानका लागि परिस्थिति सिर्जना गर्नुपर्छ र युक्रेनको प्रारम्भिक मितिमा शान्तिमा फर्कन जोड दिनुपर्छ भन्ने कुरामा सीले जोड दिएका थिए । यस सन्दर्भमा चिनियाँ पक्ष रचनात्मक भूमिका निर्वाह गरिरहन तयार रहेको पनि उनले बताए ।


प्रतिक्रिया