समाचार

प्रहरीको तल्लो तहमा थपिएका ३ पदमा बढुवा प्रक्रिया सुरु


काठमाडौँ — सरकारले नेपाल प्रहरीमा थपिएका तल्लो तहका तीन पदमा बढुवा प्रक्रिया सुरु गरेको छ ।

सरकारले प्रहरीका तल्लो तहमा लामो समयदेखि बढुवा नहुँदा मनोबल खस्किएको निष्कर्षसहित थप भएका पदमा बढुवा प्रक्रिया अघि बढाएको हो । यो प्रक्रियामा प्रहरीका तल्ला तहमा रहेका तीन तहका २० हजार ४ सय १९ प्रहरीको बढुवा हुनेछ । बढुवा प्रक्रिया बिहीबारबाट नै सुरु भएको खबर आजको राजधानी दैनिकले छापेको छ ।

सरकारले प्रहरी नियमावली, २०७१ को नवौं संशोधनमार्फत जवान र हबल्दारको बीचमा प्रहरी सहायक हबल्दार, हबल्दार र प्रहरी सहायक निरीक्षकको बीचमा प्रहरी वरिष्ठ हबल्दार तथा प्रहरी निरीक्षक र प्रहरी नायब निरीक्षकको बीचमा प्रहरी वरिष्ठ नायब निरीक्षक पद सिर्जना गरेको थियो ।

यी नयाँ सिर्जना गरिएका पदमा एकैपटक बढुवा गर्न कार्यसम्पादन मूल्यांकन चाहिने भएकाले पहिलोपटकलाई वरिष्ठताका आधारमा बढुवा गर्ने प्रक्रिया थालिएको गृह मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका प्रहरी प्रशासन शाखाका उपसचिव गणेश गैह्रेका अनुसार नियमावली संशोधनपछि तीन पदमा गरेर २० हजार ४ सय १९ प्रहरीको बढुवा हुनेछ ।

उनका अनुसार प्रहरी नायब निरीक्षकबाट प्रहरी वरिष्ठ नायब निरीक्षकमा १ हजार ४ सय १८ जना, प्रहरी हबल्दारबाट प्रहरी वरिष्ठ हबल्दारमा ३ हजार ७ सय ४८ जना र प्रहरी जवानबाट प्रहरी सहायक हबल्दारमा १५ हजार २ सय ५३ जना बढुवा हुनेछन् ।

यीमध्ये पहिलो चरणमा बिहीबार प्रहरी वरिष्ठ नायब निरीक्षकमा १ सय ९१ जना, प्रहरी वरिष्ठ हबल्दारमा १ हजार १ सय ७३ जना तथा प्रहरी सहायक हबल्दारमा १ हजार ७ सय ५२ जना बढुवा सिफारिस भएका छन् ।