Breaking

दुई वर्षपछि पालो पाएकाले जेठमै ट्रायल दिन पाउने


काठमाडौँ — अनलाइन फारम भरेर दुई वर्षपछि आउने पालो कुरेर वसिरहेका सेवाग्राहीले आगामी जेठमै सवारी साधनको ट्रायल दिन पाउने भएका छन् ।

यातायात व्यवस्था विभागले सन् २०२४ को डिसेम्बर सम्मको भिजिट समय पाएका सेवाग्राहीलाई आगामी जेठ भित्रमा सवारी चालक अनुमतिपत्र ९लाइसेन्स० को लागि ट्रायल दिने व्यवस्था गर्न लागेको हो । विभागका महानिर्देशक नमराज घिमिरेले शुक्रबार पत्रकार सम्मेलन गरी सबै पुरानो प्रतीक्षा सूचीका सेवाग्राहीलाई जेठभित्रै ट्रायल दिने व्यवस्था मिलाइएको जानकारी दिएका हुन् ।

हालसम्म करिब पाँच लाख ७० हजार व्यक्ति ट्रायलको प्रतीक्षामा छन् । ‘सबै पुराना सेवाग्राहीले जेठभित्रै ट्रायल दिन पाउनेगरी व्यवस्था मिलाएका छौँ,’ महानिर्देशक घिमिरेले भने । आगामी जेठभित्र पुराना सबैलाई ट्रायल दिलाएर असारबाट भने आवेदन भरेको १५ दिनमै ट्रायल परीक्षा दिन पाउने व्यवस्था गर्न लागिएको घिमिरेले जानकारी दिए ।

यसका लागि हरेक कार्यालयहरूको ट्रायलका काम छुट्टाछुट्टै री सेडुल गराइएको छ । एउटा कार्यालयको आवश्यकताअनुसार १५ दिनसम्मका परीक्षार्थीहरूलाई एकै दिनमा बोलाएर जेठसम्ममा परीक्षा गराइसक्ने तयारी विभागले गरेको छ ।