Breaking

काँग्रेसमा भाँडभैलो, तालमेल नगर्न देउवालाई शेखर पक्षको चेतावनी


काठमाडौँ – यतिबेला नेपाली काँग्रेस एक ढीक्का भएर चुनावमा जाने र बलियो जनमतसहित सरकार चलाउने योजनामा कटिबद्ध भइसक्नु पर्ने हो । तर काँग्रेसीले नै काँग्रेसलाई भोट हाल्छन् भन्नेमा सभापति देउवा नै विश्वस्त छैनन् । अहिले झनै काँग्रेसमा अन्तरद्धन्द्ध चर्किएपछि संकट देखिएको छ ।

सभापति समेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवा चाहन्छन्, प्रचण्ड–माधवसँग तालमेल गर्न । तर संस्थापनइतरको नेतृत्व गरेको शेखर कोइराला पक्षले तालमेल नगर्ने, प्रचण्ड–माधवलाई नबोक्ने, एक्लै चुनावमा जाने र जितेर आउनेतयारी गरेको छ ।

सभापति देउवा चाहन्छन्, पार्टीका संरचना आफु अनुकुलका व्यक्तिलाई मनोनित गर्ने । स्थानीय तहको निर्वाचनमा समेत आफ्नै तजविजमा उम्मेद्वार पठाउने । तर देउवाविरुद्ध प्रतिरोधमै जाने घोषणा गरेको शेखर पक्षले अब ४० प्रतिशत हिस्सा आफुले पाउनुपर्ने माग गरेको छ ।

केन्द्रीय समितिमा मनोनित गर्दा देउवाले आफुलाई समर्थन दिएका नेताहरुमात्रै मनोनयन गरे । ४० प्रतिशतको हैसियतमा रहेको शेखर पक्षका एक जना पनि देउवाको मनोनयनमा पर्न सकेनन् । तदर्थ समितिको सभापति तोक्दा नेविसंघ र तरुण दलमा समेत आफुनिकट नेताहरुलाई मात्रै जिम्मेवारी दिएका छन् ।

जसबाट चिड्ढीएको शेखर पक्षले शुक्रबार आफु पक्षिय विधार्थी र तरुण भेला बोलाएर घनिभूत छलफल गरेको छ । बुधबारमात्रै यो पक्षले केन्द्रीय नेताहरुबीच छलफल चलाएर देउवाविरुद्ध प्रतिरोध गर्ने निर्णय गरेको छ । पार्टीका हरेक संरचना र सबै तहका चुनावमा ४० प्रतिशत हिस्सा खोज्ने, महानगरबाहेक पालिकाको उम्मेदवारी निर्णय केन्द्रबाट गर्न नदिने तयारी गरेको छ ।

शेखरले दुई महिनादेखि देउवासँग भेट्न खोजेपनि समय नदिएपछि काँग्रेसमा गुटको राजनीति झनै चिरापरेको छ । आफ्नै टीमबाट महामन्त्री जितेका गगन थापाले सभापति देउवाकै वकालत गर्न थालेपछि शेखरभित्र पनि एकमत नहुने सम्भावना छ ।

बरु सभापतिको सारथी बनेकै कारण उनले पार्टीको घोषणापत्र लेख्ने जिम्मेवारी पाएका छन् ।स्थानीय तहको निर्वाचनको मुखमै काँग्रेसभित्र चुलिएको अन्तरद्धन्द्धले सम्मुखमै रहेको ऐतिहासिक अवसर पनि गुम्ने खतरा छ । गत निर्वाचनमा झण्डै दुईतिहाइ नजिक मत ल्याएका कम्युनिष्टहरु विभाजित बन्दै अहिले भिडाउनु पर्ने होइन, आफै भिडेर सकिने अवस्थामा छन् ।

पछिल्लो केही समयदेखि माओवादी आफैमा क्षयीकरण हुँदै गएको तथ्य छर्लङग छ । भर्खरै एमालेबाट विभाजित भएर बनेको नेकपा एकीकृत समाजवादीअस्तित्व र औचित्य पुष्टिको सकंटमा छ । विभाजनको मार खेपेकोएमाले आफैमा विश्वस्त छैन । यसबाट प्रत्यक्ष–परोक्ष रुपमा काँग्रेसलाई फाइदा छ । रपहिलो पार्टी बन्ने अवसर पनि काँग्रेसलाई मात्रै छ ।

प्रत्येक चुनाव हारिसकेपछि काँग्रेसले अन्तरघात भएको निष्कर्ष निकाल्दै आएको छ । अहिले पनि पार्टीदेखि सरकारसम्म र गठबन्धनदेखि तालमेलसम्मका विषयमा आन्तरिक द्धन्द्ध चर्किएको छ । कम्युनिष्ट फुटेको, मधेशवादीहरु छिन्नभिन्न भएको र आफु सरकारमा भएका बेला पनि पहिलो बन्न नसके, काँग्रेसको भविष्य छैन भन्ने बुझ्न विश्लेषकहरुले सुझाव दिएका छन् ।