Breaking

कांग्रेसले आवश्यकता अनुसार गठबन्धन गर्ने


काठमाडौँ – नेपाली कांग्रेसका नेताहरुले स्थानीय तहको निर्वाचनमा पार्टी एक्लैले जित्ने अवस्था रहेको ठाउँमा गठबन्धन आवश्यक नरहेको बताएका छन् ।

शुक्रवार पार्टीको केन्द्रीय कार्यालयमा सुरु भएको केन्द्रीय कमिटी बैठकमा बोल्दै केन्द्रीय सदस्यहरुले आगामी २०७९ बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा कांग्रेस एक्लैले जित्ने ठाउँमा गठबन्धन आवश्यक नरहेको बताएका हुन् ।

बैठकबारे सञ्चारकर्मीहरुलाई जानकारी दिदैँ नेपाली कांग्रेसका प्रवक्ता प्रकाशशरण महतले गठबन्धन गर्दा पार्टीले जित्ने ठाउँमा गठबन्धन गर्ने र गठबन्धन बिना जित्ने ठाउँमा गठबन्धन नगर्ने भनि केन्द्रीय सदस्यहरुले मत राखिरहेको बताउनुभयो ।

प्रवक्ता महतले सभापति शेरबहादुर देउवाले स्थानीय तह निर्वाचनमा गठबन्धन गर्न जर्बजस्त निर्णय लाद्न खोजेको भनि गलत प्रचार गरिएको बताउनुभयो ।

बैठकमा बोल्ने केन्द्रीय कमिटी सदस्यहरुले घर–घर जाऔँ, कांग्रेस जिताऔँ अभियानको सम्बन्धमा र सम्बन्धित जिल्लाको तल्लो तहसम्मको पार्टी संगठनको अवस्थाको बारेमा रिर्पोटिङ गरिरहेको उहाँले बताउनुभयो ।