देश

कांग्रेस नेतामाथि आक्रमण भएको विरोधमा गाउँपालिका बन्द


काठमाडौँ — कांग्रेस नेतामाथि आक्रमण भएको विरोधमा गठबन्धन दलले एक दिनका लागि गाउँपालिका बन्द गरेको छ ।गएको बुधवार राति ९ बजे जन्तेढुंगा गाउँपालिकाको केन्द्र चिसापानी बजारको एक होटलमा एमाले सम्बद्ध कार्यकर्ताले कांग्रेस नेता देवराज बस्नेतमाथि आक्रमण गरेको विरोधमा कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जनता समाजवादीले आज शुक्रवार गाउँपालिका बन्द गरेको हो ।

नेता बस्नेतमाथि साङ्घातिक आक्रमणको विरोधमा गाउँपालिकाका स्वास्थ्य संस्थाबाहेकका सबै कार्यालय, व्यापार–व्यवसाय, सङ्घ–संस्था एक दिनका लागि बन्द गरिएको कांग्रेस जन्तेढुंगा गाउँपालिकाका सभापति बाजिन्द्र बिष्टले जानकारी दिएका छन् । एमाले सम्बद्ध युवाले नियोजित रूपमा एक सडक योजनाको कमिसन माग्दै राजनीतिक विषयमा विवाद निकालेर बस्नेतमाथि बोत्तल प्रहार गरेर सख्त घाइते बनाएको कांग्रेसले दाबी गरेको छ ।

बोत्तल प्रहारबाट निधारमाथि सात टाँका लागेका बस्नेतको अहिले न्यूरो अस्पताल विराटनगरमा उपचार भइरहेको छ । एमाले जन्तेढुंगा गाउँपालिका कमिटि अध्यक्ष यामकुमार राईले भने जाँड–रक्सी खानेक्रममा केही व्यक्तिबीचको विवादलाई राजनीतिक रङ्ग दिएर एमालेको नाम जोडेर बदनाम गरेको बताउनुभयो ।