काठमाडौँ – पपुवा न्युगिनी (पीएनजी)सँगको पहिलो एकदिवसीय खेलमा नेपाल ६ रनले पराजित भएको छ । त्रिवि क्रिकेट मैदानमा पीएनजीले दिएको २९३ रनको लक्ष्य पछ्याएको नेपालले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर २८६ रन बनायो ।
उनी अब नेपालका लागि एकदिवसीय अन्तर्राष्ट्रिय सर्वाधिक रन बनाउने खेलाडी बनेका छन् । नेपालका लागि रोहितले शतकीय इनिङ्स खेले पनि जितका लागि भने पर्याप्त हुन सकेन । उनले १०७ बल खेल्दै १२६ रन बनाए । त्यस्तैआरिफ शेखले ३४ रनको योगदान जोड्दा कुशल भुर्तेलले ३२ रन जोडे ।
बलिङतर्फ पीएनजीका लागि नोरमान भानुवाले सर्वाधिक तीन विकेट लिए । त्यस्तै कार्लेस एमिनी र असाड भालाले दुई–दुई विकेट लिए ।
नोसाइना पोखानले एक विकेट हात पारे । यसअघि टस हारेर पहिले ब्याटिङ गरेको पीएनजीले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै २९२ रन बनाएको थियो ।
पीएनजीका लागि कार्लेस एमिनीले सर्वाधिक ७७ रनको अर्धशतकीय पारी खेले । १०३ बल खेलेका उनले ६ चौका र १ छक्का प्रहार गरे । उनलाई सोमपाल कामीले ४६ ओभरको दोस्रो बलमा बोल्ड आउट गराए ।
त्यस्तै पीएनजीका कप्तान असाड भालाले ६० रनको अर्धशतकीय पारी खेले । ५५ बल खेलेका उनले ११ चौका प्रहार गरे । उनलाई नेपालका दिपेन्द्र सिंह ऐरीले २६ औं ओभरको पहिलो बलमा बोल्ड आउट गराए । नोरमान भानुवाले पनि ४७ रन बनाए । उनलाई कमल सिंह ऐरीले क्याच आउट गराए । त्यस्तै जोसन किलाले १३ रनको योगदान गरे ।
रोहितले आज एकै खेलमा तीन कीर्तिमान बनाएका छन् । उनले नेपालका लागि एकदिवसीय अन्तर्राष्ट्रियमा सर्वाधिक रनको साझेदारी, एकै इनिङमा सर्वाधिक रन र एकदिवसीय अन्तराष्ट्रियमा नेपालकै लागि सर्वाधिक रनको कीर्तिमान बनाए । उनले १६ खेलमा ५ सय ८८ रन बनाएका छन् ।
उनले पारस खड्काको नाममा रहेको ११५ रनको सर्वाधिक रन स्कोरको कीर्तिमान भंग गरेका छन् ।
आईसीसी विश्वकप डिभिजन टू अन्तर्गत पीएनजीसँग दुई एकदिवसीय खेल खेलेको नेपालले आज घरेलु मैदानमा पीएनजीसँग पहिलो एकदिवसीय सिरिज खेलेको हो । यो जितसँगै पीएनजीले सिरिजमा १–० को अग्रता बनाएको छ ।
प्रतिक्रिया