काठमाडौँ — सोलुखुम्बु नेचा सल्यान गाउँपालिका–२ सल्यानकी २५ वर्षीया लिलामाया राई मृत फेला परेकी छन् । बेलुकीको खाना खाएर आफ्नै घरमा सुतेकी लिलामाया बुधवार बिहान मृत फेला परेकी हुन् । जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रमुख प्रहरी नायब उपरीक्षक कवित कटवालका अनुसार खाना खाएर लिलामायासँगै सुतेका उनका श्रीमान गुणराज राईले श्रीमतीको मृत्यु भएको बिहान मात्र थाहा पाएका थिए ।
श्रीमती मृत अवस्थामा फेला परेपछि गुणराजले छिमेकीलाई खबर गरेका थिए । मृतकको शरीरमा चोट देखिएको प्रत्यक्षदर्शीहरूले बताएका छन् । घटनामा शंकास्पद भएकाले ३५ वर्षीय गुणराजलाई नियन्त्रणमा लिइएको प्रहरी नायब उपरीक्षक कटवालले जानकारी दिए । शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल फाप्लुमा राखिएको छ । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


प्रतिक्रिया