राजनीति

नाराबाजीकै बीच काँग्रेस केन्द्रीय समिति बैठक सुरु


काठमाडौँ – स्थानीय तह निर्वाचनको तयारीबारे छलफल गर्न नेपाली काँग्रेसको केन्द्रीय समिति बैठक सुरु भएको छ । बैठक बस्नुअघि नेविसंघ र तरुण दलको अध्यक्ष चयनप्रति असन्तुष्टि जनाउदै असन्तुष्ट पक्षले सभापति शेरबहादुर देउवाविरुद्ध नाराबाजी गरेका थिए ।

सभापतिले नाराबाजीकैबीच बैठक सञ्चालएका छन् । पार्टी कार्यालय सानेपामा जारी बैठकमा खासगरी तीनवटा एजेण्डामा छलफल हुने छ । बैठकमा सातै प्रदेशका प्रदेश सभापतिहरुले पार्टीको अवस्थाबारे रिपोर्टिङ सुनाउने छन् त्यसपछि ‘घर घर जाउ काँग्रेस जिताउ’ अभियानमा ७७ वटै जिल्लामा खटिएका केन्द्रीय प्रतिनिधिहरुलाई बोल्न समय छुट्टयाइएको छ । उनीहरुलाई ५ मिनेटका दरले बोल्ने समय छुट्टयाइएको हो ।

स्थानीय तह निर्वाचनका लागि उम्मेदरवार छान्न संसदीय बोर्ड गठन गर्नुपर्ने काँग्रेसको विधान भएकाले बैठकमा त्यसबारे समेत छलफल गर्ने काँग्रेसको तयारी छ ।

साथै महामन्त्री गगन थापा नेतृत्वको घोषणापत्र मस्यौदा समितिलाई पुर्णता दिन सदस्यहरुको नाम छनोट गर्ने काँग्रेसले जनाएको छ । बैठक एक दिनका लागि मात्रै भनेर बोलाइए पनि छलफलका एजेण्डा बढि भएकाले लम्बिन सक्ने काँग्रेस नेताहरुको भनाइ छ ।