Breaking

वाङ यीको भ्रमणलाई लिएर राजधानीको सुरक्षा व्यवस्था कडा, यी स्थान बढी संवेदनशील


काठमाडौँ – शुक्रबार चिनियाँ विदेशमन्त्री वाङ यी ३ दिनका लागि नेपाल भ्रमणमा आउँदै छन् । एमसीसी पास भएको महिना दिन पनि नबित्दै यी नेपाल भ्रमणमा आउन लागेका हुन् ।

विदेशमन्त्री वाङ यी काठमाडौँ आउने भए पछि राजधानीको सुरक्षा व्यवस्था कडा बनाइएको छ । जसका लागि बिहीबार गृहमन्त्री बालकृष्ण खाणको अध्यक्षतामा बसेको केन्द्रीय सुरक्षा समितिको बैठकले निर्णय गरिसकेको छ ।

विदेशमन्त्री यीको सुरक्षालाई लिएर विशेषत स्वयम्भू र बौद्ध क्षेत्रलाई निगरानीमा राखिएको छ । तिब्बतियन शरणार्थीको बसोबासस्थल र गुम्बाहरूमा सादा पोसाकमा प्रहरी परिचालन गरिएको महानगरीय प्रहरी कार्यालयले जनाएको छ ।

काठमाडौँ जिल्ला सुरक्षा समितिले वाङको सवारीलाई स्कर्टिङ सहितको सुरक्षा उपलब्ध गराउने निर्णय गरेको छ । वाङ काठमाडौंको द्वारिका होटलमा बस्नेछन् । सो होटल आसपासमा सुरक्षा सतर्कता बढाइएको छ । बालुवाटारस्थित चिनियाँ दूतावास र हात्तिसारस्थित भिसा सेक्सनमा पनि सुरक्षा कडा बनाइएको छ ।

चिनियाँ विदेशमन्त्रीको सुरक्षामा नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका सुरक्षाकर्मीहरुलाई परिचालन गरिएको काठमाडौँका प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालले बताए ।

वाङले काठमाडौँ आसपासको डाँडामा पैदल हिँडने कार्यक्रम तय भएको छ । महानगरीय प्रहरी कार्यालयका एकजना उच्च अधिकृतका अनुसार कपन र बालाजु क्षेत्र मध्येको एउटा डाँडोमा उनी ‘हाइकिङ’ गर्दैछन् । उनी हिँड्ने सम्भावित क्षेत्रमा पनि सादा पोशाकमा सुरक्षाकर्मी परिचालन गरिएको छ ।

चैत १२ मा सिंहदरबारमा वाङ र परराष्ट्रमन्त्री डा.नारायण खड्काका बीचमा भेटवार्ता हुँदैछ । शनिवार उनले प्रधानमन्त्री शेरबहादुर देउवासँग भेट गर्नेछन् । एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग उनले नक्सालस्थित मेरिट होटलमा भेटवार्ता गर्नेछन् । चैत १३ मा राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गरेर उनी स्वदेश फर्कने कार्यक्रम छ ।