समाचार

दुर्लभ पक्षी चिरकालिज लोप हुने अवस्थामा


काठमाडौँ – दुर्लभ मानिने चिरकालिज पछिल्ला केही वर्षयता उचित वातावरणको अभावका कारण पर्वतमा लोप हुने अवस्थामा छ ।

केही वर्षअघिसम्म पर्वतका उच्च पहाडी भेगमा प्रशस्तै संख्यामा पाइने चिरकालिज पछिल्लो समय मुस्किलले देख्न पाइन्छ । अवैधरूपमा चोरी शिकारी, वनजङ्गलमा आगलागी, बासस्थानको ह्रास र जनचेतना अभावका कारण यो पक्षी लोपोन्मुख अवस्थामा पुगेको हो ।

बिहान सूर्योदय हुनुभन्दा अगाडि र साँझमा सूर्यास्त भएपछि दिनको दुईपटक मात्र चिरचिर गरेर कराउने भएकाले यसलाई चिरकालिज भनिएको हो । चिरकालिजको अवस्था, बासस्थान, सङ्ख्या र लोप हुनाको कारणबारे अनुसन्धान भने हुन सकिरहेको छैन । ‘क्याट्रस वालिची’ वैज्ञानिक नाम रहेको यस पक्षीलाई अङ्ग्रेजीमा चिरफेजेन अर्थात् नेपालीमा चिरकालिज र सुदूरपश्चिमा चेडु चराको नामले चिनिने गरिएको पाइन्छ ।

यो पक्षी नेपाल वन्यजन्तु संरक्षण ऐनमा संरक्षित पक्षीको सूचीमा सूचीकृत छ । नेपालमा यो पक्षी समुद्री सतहबाट एक हजार ४०० मिटरदेखि तीन हजार ६०० मिटरसम्मको भू–भागमा पाइने लामो समयदेखि पर्वतमा वनजङ्गलको क्षेत्रमा काम गर्दै तत्कालीन डिभिजन वन अधिकृत हरिशचन्द्र सापकोटाले बताए ।

नेपालका विभिन्न जिल्लामा दुईदेखि तीन हजारको हाराहारीमा रहेको यो पक्षी पर्वतका उच्च पहाडी क्षेत्रमा देखिन्छ । उत्तरी पर्वतको शालिजा, लेखफाँट, हम्पालको लेकलगायत पञ्चासेको लेक, डहरेदेउराली, गोर्ल्याङ र चिसापानीलगायतका जङ्गलमा पाइने गर्छ ।

सामान्य कालिजजस्तै यो तल्लो तटीय क्षेत्रमा पाइँदैन । सापकोटाले भने, ‘यो चरा झट्ट हेर्दा कालिजको पोथीजस्तै देखिए पनि कालिज र चिरकालिजमा धेरै भिन्नता रहेको पाइन्छ ।’

यो कालिजको भालेको पुच्छर लामो, आँखाको रङ पनि रातो हुने, शरीरमा सेतो थोप्लामा कालो बुट्टा हुन्छ भने आकारमा पोथी भालेभन्दा सानो र पुच्छर पनि छोटो हुन्छ । यसले विशेषगरी चैतदेखि जेठसम्म मात्रै फुल पार्ने र बच्चा कोरल्ने गरेको अनुसन्धानकर्ताहरूको भनाइ छ ।

यो पक्षी मुख्यगरी मध्यपहाडको माथिल्लो भेगका जङ्गल नभएको खुला भिर, खरबारी र अलिअलि झाडी भएको ठाउँमा पाइने गर्छ । ठूला–ठूला जङ्गलको पुछारमा हुने खर्कहरूमा यसलाई देख्न सकिने पर्वतको राम्जादेउरालीका रमेश शर्माले बताए। ‘१०–१२ वर्ष अघिसम्म हामी जङ्गल जाने क्रममा सडक छेउछाउँमा भेटिन्थ्यो, तर आजकल देखिँदैन, अरु कालिजभन्दा यो लोपोन्मुख भएर होला,’ उनले भने ।

भिरमा नै बासस्थान बनाउने यो पक्षीले एक पटकमा सात देखि १५ वटासम्म फुल पार्ने गरेको अनुसन्धानकर्ताहरु बताउँछन् । चिरकालिज नेपालमा मुख्यगरी अन्नपूर्ण संरक्षण क्षेत्र, ढोरपाटन शिकार आरक्ष र रारा राष्ट्रिय निकुञ्जका साथै संरक्षित क्षेत्रभन्दा बाहिर पर्वत सँगै म्याग्दी र बाग्लुङ तथा कर्णाली तथा सुदूरपश्चिम क्षेत्रमा पाइने अनुसन्धानबाट देखिन्छ ।

पर्वतमा यो कालीगण्डकी नदी, मोदीखोला र पातीखोलाको किनारमा पनि पाइएको वन अधिकृत सापकोटाले बताए । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐनले २०२९ मै यसलाई लोपोन्मुख प्रजातिका रूपमा सूचीकृत भए पनि यस क्षेत्रमा यसको थप अनुसन्धान र खोज हुन नसकेको वन डिभिजन कार्यालयका सहायक प्रमुख केशव पुडासैनीले बताए। ‘यस्ता खोज तथा अनुसन्धानको काम राष्ट्रियस्तरबाटै सञ्चालन हुन जरुरी देखिन्छ,’ उनले भने ।

समुदायबीच सचेतना कार्यक्रम, चोरी शिकारी नियन्त्रण, बासस्थानको संरक्षण तथा बासस्थानबीचको बाटो निर्माणका साथै थप अनुसन्धान गर्ने हो भने यो पक्षीको संरक्षण गर्न सहज हुने पुडासैनीले बताए । पर्यापर्यटनको विकास जैविक विविधताको संरक्षण र लोपोन्मुख आनुवांशिक जन्तुको संरक्षणका लागि पनि चिरकालिजको संरक्षण हुनुपर्नेमा उनको जोड छ ।

पछिल्लो समय गण्डकी प्रदेशको उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालयको वन विभागले रैथाने वनस्पति तथा चराचुरुङ्गी एवम् कालिज प्रजातिको खोज, अनुसन्धान र संरक्षणका लागि कार्यक्रम ल्याउने तयारी गरेको छ ।

गण्डकी प्रदेशका सबै जिल्लामा कालिज प्रजातिको संरक्षणका लागि सरकारले पहल गर्ने योजना बनाएको पूर्वउद्योग, पर्यटन वन तथा वातावरणमन्त्री विकास लम्सालले जानकारी दिए ।

संरक्षण गर्नुपर्ने कुन प्रजाति छ त्यसलाई संरक्षण गर्ने र ठूलो सङ्ख्यामा पाइने कालिजलाई व्यावसायिक हिसाबले प्रवर्द्धन गर्ने गरी सुरुमा अध्ययन, अनुसन्धानलाई अघि बढाइएको उनको भनाई छ ।