Breaking

आदिवासी जनजाति महासंघको अध्यक्षमा गेल्जे शेर्पा निर्वाचित


काठमाडौँ — नेपाल आदिवासी जनजाति महासंघको दशौं केन्द्रीय महाधिवेशनबाट अध्यक्षमा गेल्जे लामा शेर्पा निर्वाचित भएका छन् ।
कावासोतीमा शुक्रबार बिहान सम्पन्न आदिवासी जनजाति महासंघको दशौं केन्द्रीय महाधिवेशनले अध्यक्षमा गेल्जे शेर्पा लामा र महासचिवमा दिवस राईलाई निर्वाचित गरेको हो । अध्यक्ष र महासचिव पदका लागि मतदान भएको थियो भने अन्य पदमा निर्विरोध भएको निर्वाचन समितिले जनाएको छ । अध्यक्षमा शेर्पले ४४ मत र प्रतिद्वन्द्वी सोनाम लामाले ८ मत पाएका थिए । अध्यक्षमा २ मत बदर भएको थियो ।

वरिष्ठ उपाध्यक्षमा बुद्ध घर्ती, उपाध्यक्षहरू युवराज जिरेल, ध्यानी उराव, क्षेत्रबहादुर थकाली, गम्भीरसिंह गुरुङ भोटे, लाक्पा शेर्पा, लहरी जिमी र श्रुति कुमाल निर्वाचित भएका छन् ।

महाधिवेशनबाट उपमहासचिवमा रामकृष्ण लामा ब्लोन तामाङ चुनिएका छन् । ८ जना सचिव निर्विरोध निर्वाचित गरेको महाधिवेशनले विमल सारु मगरलाई कोषाध्यक्षमा चयन गरेको छ भने रिदार नोसाङ भोटे सहसचिवमा निर्विरोध भएका छन् ।
नेपालमा आदिवासी जनजातिका ५९ जातजाति सूचिकृत रहेको छ । ती मध्ये ५४ जातजातिका एक एक जना प्रतिनिधि मतदाता रहने व्यवस्था छ । महाधिवेशनमा ५४ जातजातिका प्रतिनिधि सहभागी थिए । महाधिवेशनमा पदाधिकारी नपाएको भन्दै थारु समुदायका मतदाताले बहिस्कार गरेको बताइएको छ ।

पहिचानसहितको संघीयता र स्वायत्तताका लागि संविधान संशोधन हाम्रो आन्दोलन, आदिवासी अधिकारका लागि नविन सामाजिक सहमतिको पक्षमा १० औँ महाधिवेशन भन्ने नाराका साथ बुधबार कावासोतीमा महाधिवेशन सुरु भएको थियो । महाधिवेशनको उद्घाटन गृहमन्त्री बालकृष्ण खाणले गरेका थिए । अध्यक्षमा निर्वाचित शेर्पा नेपाल शेर्पा संघका केन्द्रीय वर्तमान अध्यक्ष हुन् ।