Breaking

चुनावमा सहभागी हुने चन्दको प्रस्ताव अल्पमतमा


काठमाडौँ — स्थानीय तहको निर्वाचनमा सहभागी हुने महासचिव नेत्रविक्रम चन्दको प्रस्ताव नेपाल कम्युनिस्ट पार्टीको जारी केन्द्रीय समिति बैठकमा अल्पमतमा परेको छ ।

शिवराज नगरपालिकास्थित अञ्चलपुरस्थित निर्माणाधीन पार्टी केन्द्रीय सम्पर्क कार्यालयमा जारी १२ औं पूर्ण बैठकमा पार्टीले जनताको भावना बुझ्न स्थानीय निर्वाचनमा भाग लिनुपर्ने भन्दै महासचिव चन्दले राजनीतिक प्रस्ताव पेस गरेका थिए  ।

शुक्रबारदेखि जारी बैठकमा केन्द्रीय सदस्य, स्थायी कमिटी र केन्द्रीय सल्लाहकारले धारणा राख्ने क्रम बिहीबार सकिएको छ । ७ दिनमा ६८ केन्द्रीय सदस्य, ४ जना स्थायी कमिटी र ४ जना सल्लाहकारले राजनीतिक प्रतिवेदनमाथि धारणा राखेका छन्  ।

बैठकमा स्थायी कमिटी सदस्यले पहिलो चरणमा धारणा राखेका थिए  । स्थायी कमिटी सदस्य सन्तोष बुढामगर र खड्गबहादुर विश्वकर्माले निर्वाचनमा सहभागी हुनुपर्ने चन्दको प्रस्तावमा समर्थन जनाएका छन् । स्थायी कमिटी सदस्यद्वय हेमन्तप्रकाश वली र धर्मेन्द्र बाँस्तोला भने बहिष्कार गर्नुपर्ने पक्षमा छन् ।