काठमाडौँ — पुर्व प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तीनै तहको निर्वाचनसम्म गठबन्धन रहने बताएका छन् । माडी नगरपालिका–९ राईडाँडामा नमूना चेपाङ बस्तीको उद्घाटन गर्दै उनले आन्तरिक शक्ति बलियो बनाउन लाग्नुपर्नेमा जोड दिएका छन् ।
आउँदो निर्वाचनमा पार्टीलाई बलियो सावित गर्न गाउँ तहमा सङ्गठन बलियो बनाउनुपर्नेमा उनको जोड थियो । गएको निर्वाचनमा आफूले गरेको बाचा पूरा हुने चरणमा गएको भन्दै उनले बाँकी रहेका केही योजना एक वर्षभित्रमा सम्पन्न हुने बताए । माडी उनको निर्वाचन क्षेत्र हो । पूर्वाधारका धेरै काम सम्पन्न भएको उनको भनाइ थियो । प्रचुर सम्भावना बोकेको माडीको विकासमा आफू लागिपरेको दाहालले बताए । सो स्थानमा ८६ घर रहेका छन् ।
संसद् विकास कोष, माडी नगरपालिका र दाताहरूको सहयोगमा ती घर निर्माण गरिएका हुन् । यसअघि उनले रु पाँच करोड ३७ लाखमा सम्पन्न माडी नगरपालिका–२ को पाँच किलोमिटर लामो चिरौली सडक उद्घाटन गरेका थिए । दाहालले आजै माडी नगरपालिका–७ र ८ जोड्ने हुलाकी सडकमा निर्माण गरिएको परुईखोलाको पुलको उद्घाटन गरेका थिए । दाहालको निर्वाचन क्षेत्र हेर्दै आउनुभएकी निशा न्यौपानेका अनुसार सो सडकमा निर्माणाधीन १३ वटा पुलमध्ये गत साल एउटा सम्पन्न भएको थियो ।


प्रतिक्रिया