Breaking

गठबन्धन तीनै तहको चुनावसम्म रहन्छ : अध्यक्ष प्रचण्ड


काठमाडौँ — सत्तारुढ नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्थानीय तहको मात्र होइन, तीनवटै निर्वाचनमा वर्तमान सत्ता गठबन्धन कायम रहने दाबी गरेका छन् ।

आज बिहीबार बिहान भरतपुर विमानस्थलमा पत्रकारसँग कुरा गर्दै उनले गठबन्धन कायम रहने दाबी गरेका हुन् । स्थानीय, प्रदेश र सङ्घीय निर्वाचनमा सरकारमा रहेका दलबीच गठबन्धन हुने प्रचण्डको भनाइ छ।

उनले भने, ‘गठबन्धन त भइरहेकै छ नि, गठबन्धन टुट्दैन, अहिलेकै गठबन्धन स्थानीय मात्र होइन, प्रादेशिक र सङ्घीय निर्वाचनसम्म पनि रहन्छ।’

नेपाली कांग्रेस चितवनका केन्द्र र जिल्लास्तरका नेताहरुले भरतपुरमा प्रमुखको दाबी नछाड्ने बताइरहेका छन् । सोही सम्बन्धमा सोधिएको प्रश्नमा प्रचण्डले भने, ‘चितवन कांग्रेसले भनेर केही हुँदैन, कांग्रेसले एक्लै लड्छौँ भनेको छैन, केही मान्छेले मात्रै भनेका हुन् ।’