समाचार

कोरोनाका कारण हिमाली देशहरु ठूलो आर्थिक समस्यामा


काठमाडौँ – प्रधानमन्त्री शेरबहादुर देउवाले कोरोना भाइरस महामारीका कारण नेपालसहित विश्वका हिमाली देशहरुमा ठूलो आर्थिक समस्या पारेको बताउनु भएको छ ।

आज काठमाडौंको चन्द्रागिरीमा दिगो पर्वतीय विकासको अन्तर्राष्ट्रिय वर्षको सन्दर्भमा आयोजित अन्तर्राष्ट्रिय सम्मेलनको उद्घाटन गर्दै प्रधानमन्त्री देउवाले यस्तो बताउनु भएको हो ।

उहाँले अन्तर्राष्ट्रिय स्तरबाट सहयोग भएमात्र नेपाल लगायतका हिमाली देशहरुको अर्थतन्त्रलाई बलियो बनाउन सकिने बताउनु भयो । प्रधानमन्त्री देउवाले पर्वतीय श्रोतहरुको संरक्षण गर्न अत्यावश्यक रहेको पनि बताउनु भयो ।

प्रधानमन्त्री देउवाले विश्वमा मानव समुदायको भविष्य सुरक्षित गर्नका लागि विश्वव्यापी तापमान वृद्धि रोक्न आवश्यक रहेको भन्दै त्यसको पक्षमा तत्काल कदम चाल्न आवश्यक रहेको पनि स्पष्ट पार्नुभयो । वन तथा वातावरण मन्त्रालयले आयोजना गरेको दुई दिने सम्मेलनमा विभिन्न १३ मुलुकका दुई सय जनाको सहभागिता छ ।