काठमाडौँ — सडक निर्माणको क्रममा झरेको पहिरोले एक्स्काभेटर पुरिँदा राप्ति लोकमार्ग अन्तर्गत दाङ सल्यान सडक खण्ड अवरुद्ध बनेको छ ।
गएराति करिब साढे सात बजेतिर सल्यानको कपुरकोट ३ चोरखोला नजिक छाँगामा सडक निर्माण गर्दै गर्दा माथिबाट सुख्खा पहिरो झरेर बा २ क ८०७७० नम्बरको एक्स्काभेटर पुरेको थियो । अहिले उक्त सडक खण्ड पूर्ण रुपमा बन्द रहेको प्रहरीले जनाएको छ ।
दुर्घटनाबाट एक्स्काभेटर अपरेटर हिमनाथ योगी सामान्य घाइते छन् । पहिरोसँगै झरेको ठुला ठुला ढुङ्गाले स्काभेटरलाई च्यापेको छ । निकै जोखिमयुक्त स्थान भएकाले एक्स्काभेटर निकाल्न र पहिरो पन्छाउन समस्या भइरहेको प्रहरीले जनाएको छ ।
पहिरो झरेको स्थानमा अर्को एउटा एक्स्काभेटर भए पनि त्यसबाट सडकको अवरोध हटाउन नसकिने भएकाले दाङ तर्फबाट अर्को एक्स्काभेटर ल्याएर पहिरो हटाउने प्रयास भइरहेको छ । आज दिउँसोसम्ममा सडक सञ्चालनमा आउन सक्ने प्रहरीको भनाइ छ ।


प्रतिक्रिया