Breaking

चुनाव सार्ने प्रपञ्च गरिँदै, वाम एकताको सम्भावनाले चुनावबारे अन्योलता, शिर्ष नेता नै आशंकामा (भिडियो सहित)


काठमाडौँ — स्थानीय तहको निर्वाचन आउन ५२ दिन मात्र बाँकी रहेका बेला दलका शीर्ष नेतृत्वनै चुनावबारे विश्वस्त देखिएका छैनन् । चुनावी तालमेलबारेको अन्योलता र बाम एकताबारेको बहसले चुनावलाई अनिश्चितातर्फ धकेलेको छ । एकातिर नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी आवद्ध सत्ता गठबन्धनमा नेतृत्वकर्ता नेपाली काँग्रेसले चुनावी तालमेलबारे जोखना हेर्न थालेपछि संकट आइपरेको छ । अर्काेतिर तालमेल नै नभए गठबन्धनमै किन बसिराख्ने भन्दै बाम एकताबारे गठबन्धनभित्रैबाट छलफल सुरु भएको छ ।

अरुको फाइदाका लागि किन गठबन्धन गर्ने ? नेपाली काँग्रेसका नेताहरु भने प्रश्न गर्न थालेका छन् । तर काँग्रेस गठबन्धनका लागि तयार नभए प्रचण्ड–माधवहरु बाम एकताको विकल्पमा जानसक्ने भयले काँग्रेसलाई थुरथुर पनि बनाएको छ । कुनै पनि बेला परिवर्तन हुन सक्ने राजनीति कोर्षले सबैलाई दबाबमा परेको छ । यसैकारण बैशाख ३० मा तोकिएको स्थानीय तहको निर्वाचन नै अलमलमा परेको छ । शिर्ष नेताहरु नै आश्वस्त देखिन छोडेका छन् । सरसर्ती हेर्दा राजनीतिक दलहरुबीच चढेको चुनावी सरगर्मीले निर्वाचन तोकिएकै मितिमा हुने देखिन्छ ।

तर निर्वाचनको मुखमा दलहरुका कुण्ठाग्रस्त अभिव्यक्तिलाई स्वभाविक मानिए पनि निर्वाचन आयोगलाई नै विवादमा मुछ्ने गरी आएका अभिव्यक्तिले तोकिएकै मितिमा चुनाव होला भनेर विश्वस्त हुने अवस्था छैन । एमालेका अध्यक्ष ओलीले स्थानीय तह निर्वाचनसम्बन्धि आयोगका गतिविधिप्रति निरन्तर असन्तुष्टि जनाउँदै आएका छन् । ओलीले सत्तारुढ गठबन्धनसँग साँठगाँठ गरेर निर्वाचन आयोगले मतपत्रको रङ हरियो बनाउने र उम्मेद्वार दर्ताको लागि दुई दिन समय दिने निर्णय गरेको आरोप लगाएका छन् । आयोगको क्रियाकलापले आगामी निर्वाचनमा भरतपुर काण्ड, सिरहा काण्ड दोहोरिन सक्ने ओलीको आशंका छ । र निर्वाचन सार्नकै लागि गठबन्धनभित्रै कलात्मक षड्यन्त्र भइरहेको आरोप लगाएका छन् ।

मंगलबार बिहान प्रधानमन्त्री शेरबहादुर देउवा र प्रचण्ड–माधवबीच बालुवाटारमा तालमेलबारे छलफल भएको थियो । संसद्ले काम नगरेको अवस्थामा अहिले नै स्थानीय तहको निर्वाचन भए संसदीय निर्वाचनमा तालमेलको सुनिश्चिता नहुने भएपछि प्रचण्ड–माधवले भए अहिले नै तालमेल नभए स्थानीय तहको निर्वाचन पर धकेल्नुपर्ने विषयमा जोड दिएका थिए । देउवाले यसबारे निर्णय लिएका छैनन् । जसले झनै अन्योलता थपेको मात्रै छैन, सरकार छाड्नेदेखि संसद् विघटनसम्मको विश्लेषण गरिएका छन् ।

सत्तागठबन्धनमा चुनावी तालमेलको अन्योलता र बाम एकताबारेको सम्भावना आँकिएका बेला ओली–प्रचण्डलाई एक बनाउन लागिपरेको चीनबाट उच्चस्तरिय भ्रमण हुँदैछ । ओली र प्रचण्डबीच छुट्टछुट्टै भेटवार्ता समेत तय भएको छ । यतिबेलै एमालेका उपाध्यक्ष विष्णु पौडेलसहित समूह चीन भ्रमणमा छ । यसले पनि गठबन्धनबीचको तालमेल र बाम एकताबारे अन्योलता चिर्न सक्ने विश्लेषण गरिएको छ ।