Breaking

करिष्मा मानन्धर र पूर्वमन्त्री सहितका व्यक्ति एमाले प्रवेश, राजनीतिक सौदावाजीका लागि दल वदल बढ्दो (भिडियो सहित)


काठमाडौँ — निर्वाचन नजिकिएसंगै पार्टी अदलवदलको क्रम बढ्दै गएको छ । पूर्वमन्त्री देखि स्थानीय तहका वर्तमान प्रमुखसम्मले पार्टी फेर्दा यो लाईमान कलाकार पनि थपिएका छन । मंगलबारमात्रै अभिनेत्री करिश्मा मानन्धर र समाजवादी जनता पार्टीका अध्यक्ष तथा पूर्वमन्त्री प्रेमबहादुर सिंह सिंगो पार्टीसहित एमाले प्रवेश गरे । निर्वाचनको मुखमा हुने गरेका पार्टी प्रवेश अवसरको खोजीभन्दा माथि उठ्न सकेको छैन । मंगलबार काठमाडौस्थित एक वैंकटमा मानिसहरुको निकै चहलपलह थियो । एमालेका नेताहरुको बाक्लो उपस्थितीका बीच सन्चारकर्मीको भिड पनि उस्तै देखिन्थ्यो ।

कारण एउटै थियो –अभिनेत्री करिष्मा मानन्धर सहितका नेता कार्यकर्ताहरुको एमाले प्रवेश । नयाँ शक्ती पार्टीमार्फत राजनीति थालेर पछिल्लो समय निष्क्रिय रहेकी मानन्धर मंगलबार विशेष कार्यक्रमका वीच एमाले प्रवेश गरेकी हुन । मंगलबार मानन्धरमात्र हैन समाजवादी जनता पार्टीका अध्यक्ष तथा पूर्वमन्त्री प्रेमबहादुर सिंहको नेतृत्वमा रहेको सिंगै दल नै एमाले प्रवेश गरे भने माओवादी र अन्य दलका केहि व्यक्तिले पनि एमाले रोजे । आजबाट कमरेड बनेकी मानन्धरले एमाले प्रवेश कार्यक्रममा बोल्दै एमालेमा रहेर राजनीतिमा अघि बढ्ने अठोट गरेको बताइन् । अध्यक्ष ओली भिजन देखाउने नेता भएको भन्दै उनल ओलीका कुरा जति सुनेपनी नअघाउने र एमालेले परिवर्तनको रियल एजेण्डा बोकेको समेत बताउन भ्याईन ।

उनको जस्तै रेडिमेड उत्तर अरु नव प्रवेशीले पनि दिए । तर एमालेको निति र सिद्धान्त राम्रो भएकै कारण एमाले रोजेको बताउने केहिलाई भने ओलीको पूरा नाम समेत थाहा रहेनछ । स्थानीय तहको निर्वाचन नजिकिदैँ जाँदा एक पार्टीको नेता–कार्यकर्ता अर्को पार्टीमा प्रवेश गर्ने परम्परागत प्रचलनको पुनरावृत्ति भइरहेको छ । दलहरुले आफ्नो निर्वाचन केन्द्रीत सक्रियता बढाईरहँदा स्थानीय तहका लागि मात्रै होइन, आगामी संसदीय निर्वाचनलाई समेत लक्षित गरेर नेताहरुले दल बदलिरहेका छन् । जसपाबाट निर्वाचित वीरगञ्जका मेयर सरावगी र माओवादीबाट निर्वाचित रङ््गेली नगरपालिकाका मेयर कार्यकालको अन्तिममा एमाले प्रवेश गरे भने एमालेबाट निर्वाचित सिन्धुपाल्चोकको बलेफी गाउँपालिका अध्यक्ष केदार क्षेत्री कांग्रेस प्रवेश गरेका छन ।

एमालेबाट समाजवादीमा गएकी अर्घखाचीको पाणीनी गाउँपालिका उपाध्यक्ष लक्ष्मी गौतम यतिवेला कांग्रेसमा आईपुगेकी छिन । यता नेकपा एमालेका पूर्व केन्द्रीय सदस्य भाष्कर काफ्ले केहि दिन अघिमात्र नेकपा एकीकृत समाजवादी रोजेका छन । चितवनमा सम्पन्न एमालेको दशौं महाधिवेशनमा ओली समूह बिरुद्ध केन्द्रीय सदस्यमा उम्मेदवार बनेर सर्वाधिक मत ल्याएका काफ्ले समाजवादीको पोलिटव्युरो सदस्य बनेका हुन । यी त प्रतिनिधि उदाहरणहरु मात्र हुन । उनीहरुलाई विचारले सिद्धान्तले पार्टीमा तानेको हैन न त नितिले नै ।

तर दाबी भने सबैको रेडिमेड नै छ । पछिल्लो समय दल वदलको लहर नै चलेको छ । तथ्य केलाउने हो भने दल बदल्नेहरुको साझा उदेश्य अवसरको खोजी नै देखिएको छ । यसपल्ट कम्युनिष्टबाट कम्युनिष्ट मात्रै होइन वा लोकतान्त्रिक पार्टीबाट त्यस्तै पार्टीमा मात्रै होइन, अन्यमा पनि पुगेका छन् । जसबाट पार्टीको सिद्धान्त, त्यसले आमजनताका लागि गरिरहेको काम र उक्त पार्टीप्रति आफ्नो आस्थालाई तपशिलमा राखेको प्रष्ट देखिन्छ ।