Breaking

विश्वकप क्रिकेट लिग-२ नेपालद्वारा पपुवा पराजित


काठमाडौँ — आइसिसी विश्वकप क्रिकेट लि-२ अन्तर्गत नेपालले पपुवा न्युगिनीलाई पराजित गरेको छ । नेपालले मंगलबार दुबईमा भएको खेलमा पपुवा न्युगिनीलाई ७ विकेटले पराजित गरेको हो । पपुवा न्युगिनीले दिएको १७४ रनको लक्ष्य नेपालले ३७ ओभरमा ३ विकेटको क्षतिमा पूरा गर्‍यो । नेपालका लागि दुई ब्याट्सम्यानले अर्धशतक प्रहार गरे। ओपनर कुशल भुर्तेलले ५० रन जोडे । उनले ६४ बलम ४ चौका र १ छक्का प्रहार गरे । आरिफ शेख पनि एकदिवसीय खेलमा पहिलो अर्धशतक पूरा गर्न सफल भए । उनले नटआउट ५९ रन जोड्ने क्रममा १०२ बल खेलेर ४ चौका हिर्काए । त्यसअघि आसिफ शेख २ रनमा आउट भएका थिए । कुशल आउट भएकै ओभरमा दीपेन्द्रसिंह ऐरी शून्यमा आउट भएका थिए ।

स्तै रोहित पौडेलले पनि नटआउट ४४ रन जोडे । उनले ४८ बलमा ५ चौका प्रहार गरे । त्यसअघि दुबई अन्तर्राष्ट्रिय रंगशालामा नेपालले टस जितेर बलिङ रोजेपछि पहिले ब्याटिङको निम्तो पाएको पपुवा न्युगिनीले ८ विकेटको क्षतिमा १७३ रन जोड्यो । पपुवा न्युगिनीका ओपनर टोनी उरा ६ रनमा आउट हुँदा उनका ओपनिङ पार्टनर लेगा सिएकाले २० रन जोडे ।
कप्तान असद भालाले सबैभन्दा बढी ४५ रनको योगदान गरे। आरिफ शेखको बलमा विकेटकिपर विनोद भन्डारीबाट क्याच हुनुअघि उनले ९६ बलमा ३ चौका हिर्काए । चार्ल्स अमिनी १३ रन, रेली हेकुरी १ रन, सेसे बाउ १९ रन, नोर्मान भानुआ १८ रन र सिमोन अताइ २ रनमा आउट भए। चाड सोपरले नटआउट २२ रन र काबुआ मोरिआले नटआउट १७ रन जोडे । बलिङमा नेपालका कप्तान सन्दीप लामिछाने र सोमपाल कामीले २(२ विकेट लिए । सन्दीपले १० ओभरमा २९ रन दिए भने सोमपालले १० ओभरमै ३७ रन खर्चिए । करण केसी, आरिफ शेख, दीपेन्द्रसिंह ऐरी र पवन सर्राफले १-१ विकेट हात पारे ।

युएईमा भएको त्रिकोणात्मक सिरिजमा चार मध्ये नेपालले दुई खेलमा जित र दुई खेलमा हार बेहोर्‍यो । नेपालले पहिलो खेलमा पपुवा न्युगिनीमाथि २ विकेटको जित निकालेको थियो । त्यसपछिका दुवै खेलमा नेपाललाई युएईले पराजित गर्‍यो । खराब ब्याटिङ गर्दा नेपाल पहिलो खेलमा ४८ रन र दोस्रो खेलमा ९९ रनले पराजित भएको थियो । लि २ को अंक तालिकामा ‌ओमान शीर्ष स्थानमा छ । ओमानको २८ खेलबाट ३६ अंक छ। युएई अंक तालिकामा दोस्रो स्थानमा छ। उसले १८ खेलबाट २२ अंक जोडेको छ । तेस्रो स्थानको स्कटल्यान्डको १२ खेलबाट १६ अंक छ । चौथो स्थानको नामिबियाको १४ खेलबाट १४ अंक र पाँचौ स्थानको अमेरिकाको १६ खेलबाट १४ अंक छ। छैटौं स्थानको नेपालले १२ खेलबाट १२ अंक जोड्दा पुछारको पपुवा न्युगिनीले १६ खेलबाट २ अंक जोडेको छ ।