Breaking

सदनमा प्रतिगामी षड्यन्त्र भइरहेको छ: प्रचण्ड


पुर्व प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सदनमा पनि प्रतिगामी षड्यन्त्र भइरहेको बताएका छन् । ५ ६ महिनादेखि ‘बिना कारण’ सदनमा अवरोध गरिरहनु प्रतिगामी षडयन्त्रको हिस्सा रहेको उनले बताए । मंगलबार जनकपुरधाममा मधेस प्रदेशस्तरीय कार्यकर्ता प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले भने, ‘सदनभित्रको नाटक देख्नुभएकै छ तपाईहरुले । एमाले भन्ने गुटले बिनाकारण सदन अवरुद्ध गरेको ग¥यै छ । मैले संसद विघटन गर्नु जायज थियो, संसदले केही गर्न सक्दैन भन्ने देखाउनका लागि प्रतिगामी षड्यन्त्र सदनभित्र भइरहेकै छ ।’

प्रतिगमन गर्न हिजो सेटिङमा हिँडेका तत्व अहिले पनि सेटिङमै रहेको उनले बताए । ‘मधेसमा संघीयताको पक्षमा जबर्जस्त जनमत छ । समानुपातिक समावेशीको पक्षमा जनमत छ,’ उनले भने, ‘मधेसमा कसरी संघीयता, गणतन्त्र, समावेशीविरोधी शक्तिलाई बलियो बनाउने भनेर देशभित्रका प्रतिक्रान्तिकारी र देश बाहिरका प्रतिक्रियावादीबीचमा निकै ठुलो साँठगाँठ देखिएको छ ।’ हिजो प्रतिगमनका पक्षधर अहिले पनि प्रतिगमनकै पक्षधर रहेको प्रस्ट पार्दै उनले त्यसविरुद्ध गाउँगाउँमा गएर जनतालाई खबरदारी गर्नुपर्नेमा जोड दिए । कम्युनिस्ट क्रान्तिकारीका लागि आगामी चुनाव चुनावमात्र नभएर एउटा ‘ब्याटल’ का रुपमा रहेको उनले बताए । ‘प्रतिगमनकारी, विघटनकारीले जित्ने कि क्रान्तिकारीले जित्ने भन्ने ब्याटल हो,’ उनले भने, ‘गत वर्ष हामीले लडेर प्रतिगमन हुनबाट देशलाई बचाएकै हो ।’