Breaking

प्रचण्ड–माधव ‘मुभ’ ले झस्किए देउवा, चुनावी गठबन्धनबारे निर्णय गर्न कांग्रेसलाई दवाव


काठमाडौँ – चुनावी गठबन्धनबारेसत्ताघटकको प्रमुख दल कांग्रेसले संस्थागत निर्णय नगर्दा भएको अलमल अब भन् निष्कर्षमा पुग्ने देखिएको छ । भए गठबन्धनसहित र नभए एक्लै भएपनि चुनावमा जाने माओवादीले निर्णय गरिसकेको छ भने एकीकृत समाजवादीले पनि कांगे्रसविहिन गठबन्धनको विकल्पमा सोच्न सकिने बताएको छ । यो निर्णयले विस्तारै कांग्रेसमा समेत दवाव बढ्दै गएको छ ।

स्थानीय तहको चुनाव नजिकिँदै गर्दा सत्ता गठबन्धनले चुनावी तालमेल गर्ने सम्बन्धमा ठोस निर्णय गर्न सकेको छैन भने चुनावमा तालमेल गर्ने कि नगर्ने भन्ने विषयमा दलहरूबीच रस्साकस्सी बढेको छ ।गठबन्धन नगरे कम्युनिष्टहरु एक हुने र आफूहरु धरापमा पर्ने देखेका प्रधानमन्त्री तथा कांग्रेससभापती भने गठबन्धनप्रति लचक देखिएका छन ।

तर दोश्रो तहका नेताहरु गठबन्धनसहित निर्वाचनमा नजाने पक्षमा देखिदाँ संस्थागत निर्णय गर्न भने देउवाले सकेका छैनन । फलत ः कम्युनिष्ट पनि एक नहुने तथा संस्थागत निर्णयको वहाना पनि देखाउन पाईने भएकोले देउवाले दोहोरो रणनिति अपनाईरहेका थिए ।

एकातर्फ महामन्त्रीहरुबाट गठबन्धन प्रति चर्को बोल्दा पनि चुप बस्ने र अर्कातर्फ आफू भने नरम देखिने र चर्को नवोल्ने निर्देशन दिने उनको रणनितीले अव भने काम नदिने भएको छ । विशेषत स्थानीय तहमा गठबन्धन नचाहिए पनि संसदीय निर्वाचमा भने वाम एकताको डरले गठबन्धनको खाँचो देखिएको छ ।

यहि दोधारको बीचमा सत्ता घटक अन्य दलले कांग्रेसलाई नपर्खी चुनावी गठबन्धनको तयारी थालेपछि कांग्रेस झस्किएको छ । अर्थात गठबन्धन दलका नेतालाई रिझाउन देउवा लचिलो बनेका छन् भने चैत ११ को केन्द्रीय कार्यसमितिबाट चुनावी तालमेलबारे निर्णय लिने तयारी थालिएको छ ।

कांग्रेसको शेरबहादुर देउवा र रामचन्द्र पौडेल पक्ष गठबन्धन गर्नुपर्ने पक्षमा छ भने शेखर कोइराला खेमा गठबन्धन नगरी एक्लै चुनाव लड्नुपर्ने अडानमा छ । तर निर्वाचनमा गठबन्धन सहित जाने कुरामा माओवादी केन्द्र र सत्ताघटक एकीकृत समाजवादी प्रष्ट देखिएका छन् ।

कांग्रेसबाहेकका दलहरुबीच गठबन्धनको तयारी गर्ने प्रचण्डको प्रस्तावको अर्थ समेत सत्ता गठबन्धनले चुनावी तालमेल गर्दैन भन्ने नभएको माओवादी नेताहरुको भनाई छ ।कांग्रेस तयार नहुँदासम्म अरु मिलेर तयारी गर्न यस्तो प्रस्ताव भएको बताएका उनीहरुले चुनावी तालमेलको क्रममा जनमोर्चा पनि गठबन्धनमा आउने दाबी गर्दै आएका छन ।

विगतको ईतिहास हेर्दा भरोसा गर्न सकिने अवस्था नभएपनि वर्तमान आवश्यकताले गठबन्धनको विकल्प नदेखेको सत्ता घटक दलको नेताहरुले तर्क गर्दै आएका छन । जसमा कांग्रेस पनि आउनेमा आफूहरु विश्वस्त रहेको बताउने उनीहरु गठबन्धन भित्र तामेलको मोडालिटिबारे छलफल भईरहेको बताउछन ।

अर्थात पहिले एमालेसंग भएको जस्तो सोलोडोलो गठबन्धन नबनेपनि एमाले वलियो भएको ठाँउमा भने गठबन्धनसहित जाने तयारी भएको माओवादी नेता हरिवोल गजुरेल बताउछन । हुन त कांग्रेसभित्रको गठबन्धन विरोधी तप्काको भनाई पनि मिलेर जानै नसकिने नभएपनि सबैतीर मिल्न नसकिने भन्नेमै केन्द्रीत देखिएको छ ।

अर्थात उनीहरुले सबैलाई जिताउने ठेक्का लिन नसकिने बताएपनि आफू कमजोर भएको स्थानमा भने गठबन्धन हुनसक्ने कुरालाई नकारेका छैनन् । यहि कारण अनौपचारिक रुपमा छलफलमा रहेको गठबन्धनको मोडालिटिले कांग्रेसलाई समेत गठबन्धनमा समेट्ने अन्य घटकको विश्वास हो ।

तर वामएकता हुने नहुने धरमरकै अवस्थामा रहनु तथा आफूलाई स्थानीय तहको गठबन्धनले खासै प्रभाव नपार्ने कांग्रेसी बुझाइका कारण मोडालिटिले कस्तो प्रभाव पार्छ त्यो हेर्न भने चैत ११ सम्म कुर्नैपर्ने देखिन्छ ।