Breaking

कम्युनिष्ट एकताका लागि चीनको सक्रियता ! के कुराले जोड्न सक्छ ओली–प्रचण्डलाई ?


काठमाडौँ – निर्वाचनमा गठबन्धनसहित जाने एकीकृत समाजवादी र माओवादीको चहानाविपरित कांग्रेसका नेताहरुले तितो ओकेले पछि सत्ता गठबन्धनभित्र संकट देखिन थालेको छ । चुनावी सहकार्य अनिश्चित बनिरहेका वेला दलहरु आ–आफ्नै तयारीमा जुटेका छन । यहि परिस्थितीका बीच वाम गठबन्धनहरुको चुनावी तालमेलको सम्भावित समीकरणबारे पनि बहस सुरु भएको छ ।

सत्ता घटकको प्रमुख दल नेपाली कांग्रेसले स्थानीय तह निर्वाचमा गठबन्धन नगर्ने संकेत गरेपछि कम्युनिष्टहरुबीचको तालमेलको चर्चा चल्न थालेको छ । वाम एकता हुने सक्ने तथा विगतमा जस्तै चुनावमा हराउने डरका कारण प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा गठबन्धन प्रति नरम देखिए पनि अन्य नेताहरु भने यो पक्षमा देखिएका छैनन् ।

यसको अर्थ वामएकता पनि हुन नदिने तथा गठबन्धनसहित पनि चुनावमा नजाने कांग्रेसको रणनिति बुझेका माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमालेसंग पनि तालमेलको सम्भावना बाँकि नै रहेको बताए । राजनीतिमा स्थायी शत्रु र स्थायी मित्र नहुने बताएका उनले विगतामा गत निर्वाचनमा पनि कांग्रेससंगको गठबन्धन नै तोडेर एमाले रोजेका थिए ।

यहिबीचमा कांग्रेसले ठोस निर्णय नदिएको भन्दै प्रचण्डले (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालसँग कांग्रेसलाई नपर्खी चुनावी गठबन्धनको तयारीको प्रस्ताव गरेपछि आशंकामा अझ वल पुगेको छ । यता नेकपा एमालेको पोलिटब्यूरो बैठकमा वामपन्थी पार्टीबीच एकता गर्ने कि दुई दलीय अभ्यासमा जाने भन्ने विषयमा फरक कोणबाट छलफल भएको छ ।

बैठकमा स्थायी कमिटी सदस्य घनश्याम भुसाल र रघुजी पन्तले वामपन्थी एकताको प्रस्ताव गरेका छन् । प्रचण्ड–माधव नेतृत्वसहित अन्य वाम पार्टीहरूबीच एमालेले एकताको नेतृत्व गर्नुपर्ने र पार्टी एकता सम्भव नभए चुनावी एकतासम्म गर्न सकिने प्रस्ताव बैठकमा आएको छ ।

एमालले पनि यसअघिबाटै प्रचण्डले गल्ती स्वीकारेर आए एकता हुने सक्ने घुमाउरो पारामा स्वीकार्दै आएको छ भने कम्युनिष्टहरुलाई एक पार्ने चीनले प्रयास गरिरहेको विश्लेषण पनि हुँदै आएको छ । यहिबीचमा चिनियाँ राज्य परिषद्का सदस्य तथा विदेश मन्त्री वाङ यी नेपालको तीने दिने भ्रमणका नेपाल आउने कुरालाई पनि थप चासोका साथ हेरिएको छ ।

चैत्र ११ देखि १३ गतेसम्म नेपाल भ्रमणमा आउन लागेका वाङ यीले पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग छुट्टाछुट्टै भेटवार्ता गर्नुहुने कार्यक्रम समेत रहेको छ । यता नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलसहित चार जना नेता चीन भ्रमणका लागि गएका छन् ।

सात दिने भ्रमणका लागि युनान प्रान्तको कुनमिङ गएको सो टोलीले पनि चिनियाँ विदेश विभागका प्रमुखसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ । भन्नलाई टोली कुनमिङमा इकोनोमिक कोअपरेशन एन्ड कल्चरल एक्स्चेन्ज कार्यक्रममा सहभागी हुनलाई गएको भनिएपनि विकसित घटनाक्रममा यसलाई पनि अर्थपूर्ण रुपमा हेरिएको छ ।

यद्यपी नेकपा एमालेका नेताहरुले भने आफूहरु बाहिरी शक्तीको भरमा मिल्ने वा छुट्ने प्रक्रियामा नलाग्ने बताएको छ । एमाले त्यो हैषियतको पार्टी नभएको बताँउदै उनीहरु छिमेकी देशको भ्रमणलाई शंकाका दृष्टिले हेर्न नहुने बताउछन । साथै तत्काल माओवादीसंग मिलेर जाने कुनै सम्भवना नभएको एमाले नेताहरु बताउँछन् ।

यसअघि पनि माओवादी र एमाले मिल्नुमा चीनको हात रहेको विश्लेषण हुँदै आएको थियो । अहिले पनि देउवा प्रो अमेरिकनको बाटोमा अघि बढेका कारण चीनले त्यसको विकल्प खोज्ने पहल गरिरहेको बताँईदै आइएको छ ।

यहि बीचमा एमाले नेता र प्रचण्ड लगायतको अभिव्यक्तिको संकेत र चीनको बढ्दो सक्रियताले यसलाई अझ प्रष्ट पारेको छ । यसको मतलव स्थानीय तहको निर्वाचनमै वामपन्थी एक हुने सम्भावना नरहे पनि विगतमा झै संसदीय निर्वाचनको वेलामा भने कम्युनिष्टहरुबीच तालमेल हुने सक्ने सम्भावना प्रवल बन्दै गएको छ ।