Breaking

निर्वाचन आयोगविरुद्ध किन खनिँदैछन् ओली, एमालेलाई हराउने प्रपञ्च रचिएकै हो त ?


काठमाडौँ – सत्ता गठबन्धन र सर्वोच्च अदालतविरुद्ध निरन्तर आक्रामक बन्दै आएका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पछिल्ला दिनमा निर्वाचन आयोगविरुद्ध खनिँदै आएका छन् । निर्वाचन चिह्नको रङ र उम्मेद्वार दर्ताको लागि २ दिन समय छुट्याइएकोमा ओलीले निरन्तर चित्त दुखाइरहेका छन् ।

स्थानीय तह निर्वाचनको तोकिएको मिति नजिकिएसँगै निर्वाचन आयोग र राजनीतिक दलहरु चुनावी तयारीमा जुटेका छन् । निर्वाचनको मुखमा दलहरु आरोप प्रत्यारोपमा उभिनुलाई स्वभाविक मानिए पनि निर्वाचन आयोगलाई नै विवादमा मुछ्ने गरी दलहरुबाट आएका अभिव्याक्तिले निर्वाचन तोकिएकै मितिमा हुनेमा संसय पैदा गरेको छ ।

नेकपा एमालेका अध्यक्ष केपी ओलीले स्थानीय तह निर्वाचनसम्बन्धि आयोगका गतिविधिप्रति निरन्तर असन्तुष्टि जनाउँदै आएका छन् । ओलीले सत्तारुढ गठबन्धनसँग साँठगाँठ गरेर निर्वाचन आयोगले निर्वाचन चिन्हको रङ हरियो बनाउने र उम्मेद्वार दर्ताको लागि दुई दिन समय दिने निर्णय गरेको आरोप लगाएका छन् ।

निर्वाचन आयोगको क्रियाकलापले आगामी निर्वाचनमा भरतपुर काण्ड, सिरहा काण्ड दोहोरिन सक्ने ओलीको आशंका छ । अध्यक्ष ओलीले दलहरुसँग परामर्श नगरी निर्वाचन सम्बन्धि कुनै पनि गतिविधि अघि नबढाउन चेतावनी पनि दिएका छन् ।

त्यसो त यसअघि नेकपाको नाम विवादमा आयोगको निर्णय पूर्वाग्राही रहेको भन्दै गठबन्धनका ५ दलले ओलीले आयोगमा सेटिङ गरेको आरोप लगाउने गरेका थिए । अहिले एमालेले गठबन्धन र आयोगबीच सेटिङ भैरहेको बताउँदै आएको छ । दलका शीर्ष नेताहरुबाटै तल्लो स्तरमा आफू खुसी संवैधानिक निकायहरुलाई मुछ्ने काम भैरहेको छ ।

त्यसो त पछिल्लो समय निर्वाचनको परिणाम आंकलन गर्नमा पनि दलहरु खप्पिस देखिएका छन् । नेपाली काँग्रेस र माओवादी केन्द्रले आफू नै पहिलो दल बन्ने दाबी गरिरहेकै बेला एमाले अध्यक्ष ओली भने काँग्रेसलाई १३ सिटमा सीमित पारिदिने चेतावनी दिन समेत पछि परेनन् ।

एमालेप्रति जनताको आकर्षण देखेर सत्तारुढ दलहरुको निदहराम भएको दाबी गर्दै आएका ओलीले एकीकृत समाजवादीको भने अस्थित्व नै समाप्त पारिदिने बताउँदै आएका छन् । यता एकीकृत समाजवादी पनि अन्य दलहरुसँग सहकार्य गरेर एमालेलाई राजनीतिको मुल धारबाट बाहिर निकाल्ने दाबी गर्दै आएको छ ।

निर्वाचन मिति नजिकिएसँगै दलहरुको भविष्यवाणीलाई नियालीरहेका जनताले कुन दल रोज्ने हुन्, यो निर्वाचनको मत परिणामसँगै सार्वजनिक हुने नै छ ।