खेलकुद

कमजोर व्याटिङका कारण नेपालको लगातार दोस्रो हार


काठमाडौँ – आईसीसी क्रिकेट विश्वकप लिग टु अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय सिरिजमा नेपालले युएईसँग लगातार दोस्रो हार व्यहोरेको छ । दुबई क्रिकेट रंगशालामा आज भएको खेलमा नेपाल युएईसँग ९९ रनले पराजित भएको हो ।

युएईले दिएको २ सय ३ रनको लक्ष्य पछ्याएको नेपाल ३५ ओभर १ बलमा अलआउट हुँदै १ सय ३ रनमा समेटियो । यस अघि युएईले टस हारेर सूरुमा व्याटिङ् गर्दै नेपाललाई २०३ रनको लक्ष्य दिएको थियो ।

यूएईका लागि रोहन मुस्तफाले सर्वाधिक ६० रनको योगदान गरे भने ओपनर मुहम्मद रिजवानले ३३ रन जोडे । त्यस्तै चिराग सुरीले २६ रन बनाउदा भृत्या अरविन्दले २४ रन जोडे । बलिङतर्फ नेपालका लागि सन्दीप लामिछानेले सर्वाधिक तीन विकेट लिए ।

त्यस्तै करण केसी र सोमपाल कामीले समान दुई/दुई विकेट हात पारे । त्यस्तै आरिफ शेख र दिपेन्द्र सिंह ऐरीले एक–एक विकेट लिए । यूएईसँगको पहिलो खेलमा पनि ४८ रनले पराजित भएको थियो ।