देश

राप्रपाले चैत २५ गते काठमाडौंमा शक्ति प्रदर्शन गर्ने


काठमाडौँ — राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले यही चैत २५ गते काठमाडौंको खुलामञ्चमा आमसभा गर्ने भएको छ । आउँदो वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनलाई लक्षित गर्दै राप्रपाले राजधानीमा आमसभा गर्न लागेको हो । पार्टीको बागमती प्रदेश समितिको आयोजनामा हुने आमसभा राप्रपाको शक्ति प्रदर्शनको रुपमा रहने पार्टीका प्रवक्ता एवं प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले जानकारी दिए । आमसभालाई भव्य र व्यवस्थित बनाउन प्रदेश अध्यक्ष विक्रम बहादुर थापाको संयोजकत्वमा ५५५ सदस्यीय आयोजक समिति गठन गरिएको उनले जानकारी दिए ।

समितिमा काठमाडौं, ललितपुर र भक्तपुरका अध्यक्षहरु सहसंयोजक र केन्द्रीय सदस्य आशा लामा सदस्य सचिव रहेका छन् । समितिमा बागमती प्रदेश अन्तर्गतका १३ जिल्लाका अध्यक्षहरु, बागमती प्रदेश कार्यसमितिका पदाधिकारी, सदस्यहरु, प्रदेश भित्रका भातृ संगठनका केन्द्रीय तथा जिल्ला समितिका पदाधिकारी, सदस्यहरु, प्रतिनिधि सभा, प्रदेश सभा, महानगर, नगर र गाउँपालिकाका अध्यक्षहरु पनि रहेका छन् ।