Breaking

तर्कहीन नेताका भाषण, कहिलेसम्म मुख छाडेरै राजनीति ?


काठमाडौँ – स्थानीय तहको निवार्चन नजिकिएसँगै राजनीतिक दलहरु विपक्षीमाथि आरोप प्रत्यारोपमा लागिपरेका छन् । उनीहरुको भाषणमा तर्क र तथ्यभन्दा कुण्डा र प्रोपोगण्डाभन्दा अरु देखिएको छैन ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गत निर्वाचनमा २३ सिट जितेको नेपाली काँग्रेसलाई १३ मा झार्नुपर्छ भनेपछि एमालेबाटै विभाजित नेकपा एकीकृत समाजवादीका नेता झलनाथ खनालले एमालेको बाकसमा जिरो मत पार्ने झोँक निकालेका थिए ।

एकदिनपछि आइतबार उनकै गृहजिल्ला इलाम पुगेर ओलीले झलनाथको झोक निकाल्दै लाज पचाएको मात्रै भन्न भ्याएनन्, एमालेले टाँसिदिएका जुँगामा ताउ लगाएर एमालेकै बाकस खाली गर्छाे भन्ने भन्दै गाली नै गर्न तयार भए ।

न ओलीको काँग्रेसलाई १३ सिटमा झार्ने कुरा तथ्य र तर्कपरक छ । न झलनाथको एमालेलाई जिरो मतमा झार्ने कुरामा कुनै सत्यता छ ।यसमा व्यक्तिगत गालीगलौज र रिसराग भन्दा अन्य केही छैन । अब उस्तै कुरा प्रचण्डको । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आइतबार बिहानै पोखराबाट पार्टी पहिलो बन्ने दाबी गरे ।

यसैपनि गठबन्धनबिनै निर्वाचनमा जान मुटु कमाइरहेका प्रचण्डले ०६४ कै रापतापपूर्ण माहोल माओवादी फर्किएको दाबी गरेपछि उनको कुरा पनि पत्याउन मुस्किल प¥यो ।

प्रचण्डले शनिबारमात्रै आफुलाई सिंह र एमालेलाई भेडाहरुको समूह भन्दा ओलीले गठबन्धनलाई स्यालहरुको मोर्चा भन्दै हात्तिको शिकार गर्न नसक्ने दाबी गरेका थिए ।

आइतबारमात्रै एउटै कुचोले पाँच दललाई बढार्ने अर्काे दाबी ओलीले गरेका छन् । तर न प्रचण्ड सिंह हुन्, न ओली हात्ति हुन् । स्थानीय तहको चुनाव नजिकिँदै गर्दा उनीहरु आफ्ना विरोधीमाथि व्यक्तिगत टीकाटिप्पणी गर्न मात्रै यो सब बोलिरहेका छन् ।

केही दिनअघि मात्रै प्रधानमन्त्री शेरबहादुर देउवाले समेत एमाले नेता भीम रावललाई दिमाग खुस्केको आरोप लगाएका थिए । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसमेत मुखै छोड्न पछि पर्दैनन् ।

युवाहरुबीच लोकप्रिय र केही आश गरेका काँग्रेस उपसभापति धनराज गुरुङ, महामन्त्री गगनकुमार थापा र विश्वप्रकाश शर्मा तथा नेकपा एकीकृत समाजवादीका नेता प्रेम आलेहरु पनि शिर्ष नेतृत्वसँग बाझाबाझ गरेर चर्चामा आउन अशोभनीय अभिव्यक्ति दिने अघि सरिरहन्छन् ।

विपक्षीको खिसिट्याउरी गर्न कुकर र स्याल जस्ता निम्न शब्दको प्रयोग सक्ने उनीहरु एजेन्डा र जनताको पीर बोकेर जनताको दैलोमा जान सकिरहेका छैनन् ।